तीन दिनपछि नेपाल बन्द खुल्यो। हतारमा थिए, दोलखाका कृष्णबहादुर घिसिङ। कोरिया जाने भिसा लागेको थियो। काठमाडौं आएर कागजात मिलाउनुपर्ने थियो।
पेसाले ड्राइभर कृष्ण जिरी-काठमाडौंको सार्वजनिक बस चलाउँथे। बन्द खुलेको बिहानै दुई छोरा र श्रीमतीलाई ‘लौ म त काठमाडौं हिँडे’ भनेर घरबाट निस्किए। जिरीको काउन्टरमा पुगे। काउन्टर खुलिसकेको थियो। त्यहीँ थिए, यातायात व्यवसाय अन्य साथी।
यात्रुहरु काठमाडौं जानका लागि लामबद्ध भएर बस चढिरहेका थिए। जिरीमा बिहानै चिसो थियो। काउन्टर नजिकैको चिया पसलमा तातो चिया खाए उनले। साथीहरुलाई सोधे, ‘अब बस चलाउने कि?’
बिहान ५ बजे चलाउनुपर्ने बस बाटोमा केही अवरोध होला भनेर रोकिएको थियो। ६ बज्न केही मिनेट मात्रै बाँकी रहँदा उनी बसमा चढे। ६ बज्यो, बस हुइँकियो काठमाडौंका लागि।