बाढीले टहरामुनि पुर्‍यायो, टहरामा राज्यले डोजर चलायो

साउनमा मोहना नदीको बाढीले घरजग्गा बगाएपछि कैलाली भजनीका विस्थापित परिवार स्थानीय जनप्रतिनिधिसहित सर्वदलीय सहमतिमै हिम्मतपुर सामुदायिक वनछेउमा टहरा बनाएर बस्दै आएका थिए, बुधबार वन कार्यालयले डोजर लगाएर टहरा पनि तहसनहस गरिदिएको छ

गत साउन दोस्रो साता मोहना नदी उर्लिएर घरको आँगनमै पसेपछि भजनी नगरपालिका–७ हिम्मतपुरका सर्मन डगौराको परिवार विस्थापित भयो । धन्न प्रहरी र स्थानीयको सहयोगमा कच्ची घर भत्काएर सामान सुरक्षित ठाउँमा सार्न भ्याए । केही दिनमै घर रहेकोसमेत दुई कट्ठा जमिन पनि मोहनामा मिल्यो । स्थानीय जनप्रतिनिधिलगायतको सर्वदलीय बैठकले हिम्मतपुर सामुदायिक वनछेउमा बस्न सहमति दिएपछि बालबालिकासहित १० जनाको परिवारलाई ओत लाग्न त्यहीँ अस्थायी टहरो हाले ।

तर, बुधबार भजनी सबडिभिजन वन कार्यालयले टहरोमा डोजर लगाएपछि डगौरा परिवारको फेरि उठीवास लागेको छ । सर्मनसँगै हिम्मतपुरका ४० परिवारको टहरा वन कार्यालयले डोजर लगाएर तहसनहस बनाइदिएको हो । 

सर्मनकी श्रीमती दुई महिनाकी सुत्केरी छिन् । उनले आफ्नो जायजेथा सम्झिँदै राज्यलाई प्रश्न गरे, ‘घर छैन, जमिन पनि खोलामै मिल्यो । यहाँबाट पनि उठीवास लगाएपछि पुसको ठण्डीमा दुई महिनाकी सुत्केरी र नाबालक सन्तानलाई कहाँ लगेर राखौँ ?’ 

सर्मनलगायत सबै विस्थापित परिवार वनछेउको कच्ची सडकमा सामान राखेर खुला आकाशमुनि बसिरहेका छन् । बाढीपीडित हिरादेवी डगौराले बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउन चिन्ता परेको बताइन् । ‘आफ्नो घर रहेको एक कट्ठा जग्गामा अहिले खोला बगेको छ । वनछेउमा कष्ट भए पनि टाउको लुकाउन पाइएको थियो, तर त्यही पनि भत्काइदिए,’ उनले भनिन्, ‘कहाँ गएर बस्ने सरकारले देखाइदेओस् ?’ 

प्रकाशित मिति: : 2021-12-23 11:25:00

प्रतिकृया दिनुहोस्