काभ्रेका स्थायी बासी हुन्, मंगलबहादुर तामाङ। उनले काठमाडाैँकाे न्युराेड, असन तथा ठमेल क्षेत्रमा रिक्सा चलाउँन थाले झन्डै दुई दशक बित्याे। उनले यही रिक्साकाे साहारले आफू र परिवारकाे जीवन चलाइरहेका छन्।
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म रिक्सामार्फत् कहिले सामान, कहिले मानिस एक स्थानबाट अर्को स्थानसम्म पुर्याउनु उनको दैनिकी हो।
वि.सं. २०१० सालमा काभ्रेको नगरकोट गाउँपालिकामा जन्मिएका तामाङले एक कक्षा मात्रै पढेका छन्। गरिवीका कारणा उनले औपचारिक शिक्षा लिन पाएनन्। बाल्यकाल वनपाखामा घाँस, दाउरा र मेलापात गरेर बितेकाे उनी बताउँछन्।
जागिर गर्न उनीसँग शैक्षिक याेग्यता थिएन। व्यवसाय गर्न लगानीकाे अभाव। त्यसैले पूर्खाकाे जग्गा जमिनमा खेतिपाती गर्न थाले। तर, विवाह गरेपछि भने त्यतिले मात्रै पुग्ने अवस्था थिएन। त्यसैले उनी राेजगारीकाे खाेजीमा काठमाडाैँ हानिए।
काठमाडाैँमा उनले चिनेका काेही थिएनन्। उनले सुरूमै रिक्सा किनेर चलाउन थाले। त्याे बेला काठमाडाैँमा रिक्साकाे विकल्प अरू थिएनन्। रिक्साबाट पनि राम्राे आम्दानी हुन्थ्याे। त्यतिबेला रिक्सामा खचाखच मानिसहरू हुने र कमाई राम्राे हुन उनी बताउँछन्।
'मैले रिक्सा चलाउन सुरु गर्दा प्यासेन्जर धेरै हुन्थें तर अहिले सबैको घर–घरमा मोटरसाइकल र स्कुटर भएको कारण रिक्सा चढ्ने प्यासेन्जरमा कमी आएको छ, कमाई नै हुँदैन', तामाङले विगत सुनाए।
उनले विगतमा दैनिक एक हजारदेखि १२ सयसम्म कमाउने गरेकाे बताए। तर, जब बजारमा माेटरसाइकल र स्कुटर भित्रिए तब उनकाे गरिखाने पेशा नै धरापमा पर्याे। अहिले उनले दिनकाे ५ सय बचाउन पनि गाह्राे छ।
त्यसाे त काेराेना महामारीले पनि उनले काममा ठूलाे असर पुर्यायाे। लामाे समय घरमा थुनिएर बस्नुपर्दा विहान–बेलुका खाना खानै समस्या हुने गरेकाे उनले दुखेसाे पाेखे। त्यसमाथि न्युराेड जस्ताे महङ्गाे क्षेत्रमा उनी डेरा गरी बस्छन्। उनीकाे साथमा श्रीमती छिन्।