८ वर्षीया रितिशा, जसको स्वरले सबैलाई मन्त्रमुग्ध बनाउँछ (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

कात्तिक अन्तिम सातादेखि हिमालय टेलिभिजनबाट सुरु भएको गायन रियालिटी सो ‘द भ्वाइस अफ किड्स’मा आफ्नो प्रतिभा देखाएर धेरैको हाईहाई बनेकी मोरङ उर्लाबारीकी ८ वर्षीया रितिशा बस्नेत यतिबेला खुबै चर्चामा छिन्।

उक्त रियालिटी सो’को ‘ब्लाइन्ड अडिशन’मा राम्रो गीत गाउनुका साथै रमाइलो कुरा गरेर सबैलाई आफूतर्फ आकर्षित गरेकी रितिशा अहिले सबैकी प्यारी बनेकी छिन्।

सानै उमेरमा लोभलाग्दो प्रतिभा देखाएर सबैलाई अचम्मित पारेकी उनी अहिले धेरैको खोजीमा छिन्। त्यही खोजीले हामीलाई यस हप्ता रितिशाको घर कपनस्थित सरस्वती नगरतर्फ डोर्‍यायाे।

पुस महिनाको चिसो मौसममा पनि उनी निक्कै उत्साहसाथ घरसँगै रहेको पाठशालमामा संगीत कक्षा लिइरहेकी थिइन्।

हरेक दिन झिसमिसे उज्यालोमा उठेर पाठशाला गएर गायनको अभ्यास गर्ने उनको दैनिकी हो। त्यसो त उनलाई अहिले संगीतको सिकाइरहेका गुरुले नै उनलाई तीन वर्ष अगाडि संगीतमा लाग्न प्रेरणा दिएका थिए। उनकै प्ररणाले रितिशाले संगीत यात्राको डोरी समाउन सफल भएकी हुन्।

ती गुरुले रितिशाको स्वरमा राम्रो सम्भावना रहेको बताएका छन्।

‘रितिशाको स्वर धेरै राम्रो छ, सानै उमेरमा यति गाउन सक्नु धेरै राम्रो हो,’ उनले भने,‘उमेर अनुसार स्वरभा निर्खाता आउँदै जान्छ।’

रितिशाले घरमा बुबाआमा ‘अफिस’ गएको समयमा, काम गर्दा, पढ्दा, खेल्दा समेत गीत गुनगुनाउने गर्छिन्। उनको यही संगीतप्रतिको लगाव देखेर नै उनका बुबाआमाले संगीत कक्षामा पुर्‍याएका थिए।

‘सानैदेखि यिनले संगीतमा रुचि राख्न थोलेकी हुन्, त्यही देखेर नै हामीले संगीत कक्षा राखिदिएका हौँ,’ उनका बुबा राम बस्नेतले भने।

कोरोना महामारीमा भएको लकडाउन तथा निषेधाज्ञा रितिशाले राम्रो सँग गीत संगितमा सदुपयोग गरिन्। यही समयमा भएको ‘अनलाईन ट्यालेन्ट हण्ट’नाम गायन प्रतियोगिताको उपाधी समेत जितेकी थिइन्, उनले। त्यसपछि उनको ‘द भ्वाइस अफ किड्स’को यात्रा भएको थियो।

यसअघि विद्यालय तथा विभिन्न मेला महोत्सवमा हुने गायन प्रतियोगिताबाट सबैले हाईहाई पाएकी रितिशा गायनको यात्राले झनै दङ्ग छिन्।

रितिशाको यो सफलताले उनको परिवारमा झनै खुशीयाली थपेको छ। रितिशाका बुवा राम जीम गुरु हुन्, भने आमा कलेज पढाउछिन्। उनका बुबाआमा अफिस गएका बेला टिभी हेरेरै गित गाउन प्रयास गर्थिन् रितिशा।

रितिशाको  द भ्वाइस अफ किड्सको यात्रा भने ब्याटल राउण्डमा पुगेर टुङ्गिएको छ। यो यात्राबाट गतिलो अनुभव बटुलेर आएकी उनले आगामी दिनमा संगीतको यात्रालाई कसरी अगाडि बढाउलिन् त्यो भने उनले गर्ने साधना, परिवारको साथ र दर्शकको मायामा निर्भर रहला।

सानै उमेरमा संगीतलाई राम्रो सँग बुझेकी रितिशाको सांगीतिक यात्राले सफलतको शिखर चुमोस्, शुभकामना।

प्रकाशित मिति: : 2021-12-22 17:45:00

प्रतिकृया दिनुहोस्