जब उनी बुझ्ने भए आँखा खोल्दा चारैतिर अन्धकार थियो । सोच्थे ‘जीवन अँध्यारोमै बित्ने भयो ।’
तर होइन रहेछ, अँध्यारोभित्र पनि त उज्यालो हुँदोरहेछ। आँखाको ज्योति गुमाएर संसारको झिलिमिली देख्न नपाए पनि आफ्नो जीवनलाई प्रकाशवान तुल्याउन सकिन्छ। र, अँध्यारोबाट उज्यालोको ज्योति छर्न सकिन्छ भन्ने एक सजीव उदाहरण हुन्– दाङका कुशल तामाङ।
उनी नुवाकोट जिल्लामा जन्मिए। जन्मिएको वर्ष दिन नपुग्दै गाउँमा आँखा पाक्ने महामारी फैलियो। गाउँमा सबैका आँखा पाक्न थाले । परिवारमा उनलाई पनि यो रोगले भेट्यो । ‘त्यो बेला उपचार गराउन नजिक अस्पताल थिएन’ उनले भने, ‘बुवाले झाँक्रीकहाँ लैजानु भएछ। तन्त्रमन्त्र गर्न लगाइयो। कहाँ सञ्चो हुनु ?’ अन्ततः उनले आँखाको ज्योति गुमाए । संसार अँध्यारो भयो।
सानै छँदा उनलाई लाग्थ्यो रे, संसार यस्तै होला । तर जब हुर्किंदै गए, छामछामछुमछुम पो गर्न थाले । हिंड्न खोज्दा ठोक्किन थाले । चारैतिर संसार अँध्यारो थियो। केही पनि ठम्याउन नसक्ने। ‘५–६ वर्षको थिएँ होला, त्यसैबेला थाहा पाएँ म त अरू भन्दा फरक रहेछु’ उनले भने, ‘संसार त उज्यालो पो रहेछ। आँखाको ज्योति सदाका लागि गुमेको थाहा पाएकै दिन सबैभन्दा धेरै रोएँ।’