३३ किलो सुन प्रकरणमा नसुल्झेको 'पहेली', पूर्णपाठ भन्छ : अनुमान र आशंकामै रुमलिएको 'अनुसन्धान'

पहिलोपोष्ट

काठमाडौं

चार वर्षअघिको ३३ किलो सुन प्रकरण 'रहस्यको गर्भ'बाट बाहिरिएको छैन। तर, उक्त प्रकरणमाथि भएका अनुसन्धान कति 'फितलो' थियो भन्ने चाहिँ खुलासा भएको छ। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले हिजो सार्वजनिक गरेको फैसलाको पूर्णपाठले अनुसन्धानमाथि धेरैखाले प्रश्न तेर्स्याएको छ। पूर्णपाठले प्रस्ट पारेको छ -कमजोर अनुसन्धानकै कारण यस प्रकरणको 'पहेली' सुल्झिएन भने निर्दोषहरु नराम्ररी पीडित बन्न पुगे। ३३ किलो सुन गुमनाम रह्यो नै, दोषी पनि निष्फिक्री रहे।

३३ किलो सुन प्रकरणलाई लिएर प्रहरीको अनुसन्धानमा मात्र भर पर्न चाहेन सरकार। अनुसन्धानमा विज्ञता हासिल गरेका सुरक्षा निकायलाई 'बाइपास' गर्दै गृह मन्त्रालयले निजामती कर्मचारीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति नै बनाएर अनुसन्धान गर्‍यो। त्यसैका आधारमा सुन तस्करीमा 'हाइप्रोफाइल' व्यक्ति पक्राउ परे। त्यतिमात्र होइन, ती पनि अनुसन्धानको दायरामा आउन वाध्य भए, जो ज्यान जोखिममा राखेर सुन र त्यसमा जोडिएका मानिसहरुको अनुसन्धानमा खटिएका थिए।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै गायब भएको थियो। यही विषयमा सुन तस्करबीच विवाद भयो। परिणाम, ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको २०७४ फागुन १८ गते हत्या भयो। र, त्यसपछि तस्करी र हत्यासँग जोडिएका घटनाका प्लट एकएक गर्दै बाहिरिए।

प्रकाशित मिति: : 2021-12-18 06:47:00

प्रतिकृया दिनुहोस्