वृद्धावस्थामा पुगेपछि मात्र अर्ती–उपदेश बाँड्नुपर्छ भन्ने हो भने बिपी कोइराला राजनीतिका सिद्धान्तकार र साहित्यकार बन्ने थिएनन्
कांग्रेस युवा नेता विश्वप्रकाश शर्माले केहीअघि एउटा कार्यक्रममा बोल्दै पार्टीलाई पद्धतिबद्ध तरिकाले चलाउनुपर्नेबारे चर्चा गरे। उनले कांग्रेस पार्टीको एउटा नेता मुलुकको राजकीय पदमा कति अवधिसम्म आसीन हुन पाउने भन्ने सम्बन्धमा सीमा तोक्नु मनासिब हुने विषय उठान गरे। विश्वप्रकाशको मन्तव्यलाई ध्यानपूर्वक सुनिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शर्माको अभिव्यक्तिप्रति लक्षित गर्दै भने– ‘बुढापाकालाई अर्ती दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो।’
आफूले अध्ययन, अवलोकन र अनुभवबाट प्राप्त गरेका असल र हितकारी ज्ञानलाई सुझाव या उपदेशका रूपमा अन्य व्यक्तिसामु पुर्याउने कामलाई अर्ती भनिन्छ। असल कुराको अर्ती उपदेश दिनका लागि वृद्धावस्था कुरेर बस्नु आवश्यक छैन। त्यस्तो प्रवृत्तिलाई आत्मसात् गरेको भए न सिद्धार्थ गौतम बुद्ध बन्थे न विवेकानन्द विद्वान् वक्ता नै। वृद्धावस्थामा पुगेपछि मात्र ज्ञानगुनका कुरा गर्नुपर्छ भन्ने सोचेको भए बिपी कोइराला राजनीतिका सिद्धान्तकार र साहित्यकार बन्ने थिएनन्।
बुढेसकाल लागेपछि कविता लेख्नुपर्ला भनेर बसेको भए न लक्ष्मीप्रसाद देवकोटा महाकवि कहलिन्थे न त माधव घिमिरे राष्ट्रकवि नै। परन्तु यहाँ कांग्रेसको उच्चतम नेतृत्वबाट उचित सुझावलाई मनन गर्नुको बदला खारेज गर्ने काम भयो। मौकामा बोल्न र भन्न सक्ने प्रगल्भता र चातुर्य भएका आफ्नै पार्टीका युवालाई हतोत्साहित गर्ने काम नेपाली कांग्रेसमा मात्र नभई प्रायः अन्य साना–ठूला सबै दलमा भइरहेको छ।