महाधिवेशनको रापतापमा रहेको कांग्रेस पार्टीमा बुर्जुवाहरूले भन्ने गरेको निर्वाचनबाहेक अरू केही लोकतान्त्रिक छैन
लोकतन्त्रको अर्थ लोक वा जनतामा आस्था हो। सामूहिकता र सम्बद्धताको भावना होस्, मानिसहरू एक–आपसमा आबद्ध छन् भन्ने अनुभव गर्ने गरी उनीहरूमा पारस्परिक माया र विश्वास होस् र उनीहरूमा पारस्परिक संशय, प्रतिस्पर्धा र असहिष्णुता नहोस्, यस्तोलाई लोकतान्त्रिक समाज भनिन्छ। तर, वर्तमानमा लोकतन्त्रसँगको यो शारीरिक सहानुभूति नष्ट भइसकेको छ र यससँगै लोकतन्त्रको वास्तविक भावना पनि विखण्डित भइसकेको छ । लोकतन्त्र र शोषण एक–आपसमा विपरीत तत्व हुन् र यिनको मेलले एक–अर्कालाई ध्वस्त पारिदिन्छन्।
तर, वर्तमानको लोकतन्त्र परिणाम र तथ्यगतभन्दा पनि प्रक्रियामुखी र तार्किक (लफ्फाजी) भएको छ। अब लोकतान्त्रिक समाजका निम्ति आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा समृद्ध र स्वतन्त्रचेती होइन, लोकतान्त्रिक समाज हुनलाई समाजमा चुनाव हुनुपर्छ। संरचना र प्रक्रियाले जनताको हित कति गर्यो वा गरेन, भन्ने प्रश्न महत्वको हुँदैन। निर्वाचनमा आधारित एउटा सरकार, निर्वाचनमा भाग लिने राजनीतिक पार्टी तथा निर्वाचन भएको समाज र राजनीतिक शासनलाई लोकतान्त्रिक परिभाषित गरिन्छ।
पार्टीले लोकतान्त्रिक मानदण्डलाई कति पालन गर्छ वा गर्दैन भन्ने प्रश्न महत्वको हुँदैन। लोकतान्त्रिक हुन पार्टीभित्र निर्वाचन भने हुनुपर्छ। राज्यको निर्वाचन आयोगले पनि पार्टीहरूले जनतासामु कबोल गरेका वाचा कति पूरा गरे–गरेनन्, त्यसको मूल्यांकन गर्दैन। आयोगको मान्यतामा पार्टीहरूभित्र पाँच वर्षमा एकपटक महाधिवेशन वा यस्तै केही अन्य प्रतिनिधिमूलक भेला र नेतृत्वको निर्वाचन भयो भने लोकतान्त्रिक मानिन्छ। वस्तुतः हामी एउटा साम्राज्यवादी विश्वमा बाँचेको छौँ, जहाँ सबै मान्यता उनीहरूले नै निर्धारित गर्छन्। यो चुनावी लोकतन्त्रको परिभाषा र प्रक्रिया पनि उनीहरूले नै निर्धारित गरेका हुन्। यथार्थमा यो वर्चस्व भागबन्डाको परिभाषा हो।