एकताको त्यो महाधिवेशन, ‘एकता’को यो महाधिवेशन

अनलाइनखबर

बिनु सुवेदी

पार्टीको चौथो महाधिवेशनदेखि पाँचौंसम्म पुगिसक्दा नेकपा (एमाले) वैचारिक रुपमा चिराचिरा थियो । वैचारिक राजनीतिक संघर्षमा मदन भण्डारीले अगुवाइ गरेको जनताको बहुदलीय जनवाद, मनमोहन अधिकारी, साहना प्रधान, सीपी मैनाली, झलनाथ खनाल लगायत नेताको परिमार्जित नयाँ जनवाद, मोहनचन्द्र अधिकारीको नयाँ जनवाद लगायत आधा दर्जनभन्दा बढी वैचारिक दस्तावेजमा एमालेका शीर्ष नेताहरुले बहस चलाए ।

त्यतिखेर एमालेको केन्द्रदेखि गाउँ र वडा कमिटीसम्म बहस भयो । नेताहरुले आफ्नो विचार किन ठीक भनेर दावी र पुष्टि गर्ने यथेष्ट मौका पाए । ती विचारसहितका प्रतिनिधि पाँचौ महाधिवेशन (२०४९) मा आइपुग्दा एकअर्कालाई निषेध गर्नेसम्मको मनस्थितिमा थिए । त्यसले पार्टी एकताको चार बर्षमै विभाजन हुने स्पष्ट संकेत दिइसकेको थियो ।

नेताहरुमा तिक्तता बढ्दै गयो । हल अशान्त भयो, एक अर्काका पक्षविपक्षमा हुटिङ हुन थाल्यो । र, पाँचौ महाधिवेशनमा विचारमाथि मतदान भयो ।

मतदानमा जबजको पक्षमा ५४५ प्रतिनिधिले भोट हाले, परिमार्जित नयाँ जनवादले १०८ मत पायो र नयाँ जनवादको पक्षमा ५० भोट पर्‍यो । मत विभाजनपछि हल थप तरंगित भयो । जबज पक्षधरहरु चुनावमा जान थप ‘कन्फिडेन्ट’ देखिए ।

निर्वाचन कमिटी र अध्यक्ष मण्डल बनिसकेपछि निर्वाचन प्रक्रिया घोषणा भयो । जबज पक्षधरहरुले भटाभट उमेदवारी दिन थाले, सयौं उमेदवार बने । जबजइतर विचारधारा राख्नेहरु भने चुनावी प्रक्रियामा अगाडि नै बढेनन् । निर्वाचन आयोगले पटक–पटक समय दिंदा पनि मनमोहन अधिकारी, सहाना प्रधान, सिपी मैनाली, झलनाथ खनाल लगायत नेताहरुले उमेदवारी नै दिएनन् । उनीहरु पराजित हुने चुनावमा जान तयार भएनन् ।

प्रकाशित मिति: : 2021-11-29 15:07:00

प्रतिकृया दिनुहोस्