चन्दननाथ- ३ सिमखाडाका लंक खत्री बिहान चार बजे उठ्छन्। घरमा भएका भैंसीलाई दाना दिन्छन्। दुईवटा भैंसी र एक गाई पालेका उनी दूध दुहुन्छन्, त्यसमा अघिल्लो साँझ तताएर राखेकाे दूध मिसाएर निस्कन्छन्, घर–घरमा पुगाउँदै डेरीसम्म पुग्छन् र फर्किन्छन्।
घर फर्केपछि परिवारसँग कम र भैसीसँग बढी समय बिताउँछन्। दाना बनाउँछन्। घाँस दिन्छन्। पानी प्याउँछन्। अबेर खाना खान्छन्। फेरि गाई भैसीसँगै नजिकिन्छन्। साँझकाे दूध धाेएर ताउँछन्। खाना खान्छन्। दिनभरी गरी लगभग १८ घण्टा भैसीसँग समय बिताएपछि बल्ल ओछ्यानसँग उनकाे भेट हुन्छ।
हरेक दिन उसैगरी नै बित्छ। वर्षामा उनका घरमा पाँचवटा भैंसी थिए। उनकी जहान सुत्केरी हुने भएपछि तीनवटा भैंसी बेचे। श्रीमतीकाे सुत्केरी हुने दिन नजिकिदै जाँदा उनले काम गर्न सक्ने अवस्था रहेन। लंक एक्लैले नभ्याउने भएपछि भैंसी बेच्नु पर्याे।
वर्षामा उनकाे कमाई ५० देखि ८० हजारसम्म हुन्थ्याे। अहिले ५०–५५ हजार हुन्छ। यसरी उनले दूध बेच्न थालेकाे १२ वर्ष भयाे। जसले उनकाे जीवन निकै सहज भएकाे छ।
तर, लंककाे जीवन आज हेर्दा जति सहज जस्ताे लाग्छ, त्यस्ताे थिएन। लामाे समयदेखि भैंसी पालन व्यवसाय गरिरहेका उनकाे जीवनसँग अत्यासलाग्दाे कथा जाेठिएकाे छ। अब सुनाैं लंक खत्रीकाे कथा।
जन्मेको २२ दिनमा बुबाले उनीकी आमालाई छाेडे। उनले भने अनुसार उनका बुबा रिटायर्ड शिक्षक हुन। उनी जन्मनुभन्दा धेरै अगाडि देखि नै बुबा शिक्षक थिए। शिक्षक भएकाे हुनाले उनकाे सामाजिक हैसियत थियाे। उनी बाेलवाला थिए। घरमा जेठी श्रीमती हुँदाहुँदै पनि उनले जबर्जस्ती तानेर अर्काे बिहे गरे।
जबर्जस्ती श्रीमती हुनुका सयाैं पीडाहरुलाई दबाएर लंककी आमा साैतामा बसिन। तर, छाेरा जन्मेकाे २२ दिनमा आफू गन्तव्य अलमलिएर घर न घाटकाे हुन्छु भन्ने थाहा थिएन। भइसकेको घटनाका अगाडि कसैकाे सीप चलेन।
उनले एक दिन त श्रीमानकाे मन कसाे नफिर्ला नसाेचेकी हाेइनन् तर जीवनकाे उत्तरार्धमा आइपुग्दासम्म पनि उनकाे मन फिरेन। अहिले त उनले आशा पनि मारिसकेकी छन्।
दुधे बालक काखमा च्यापेर जीवनकाे पैया एक्लै गुडाइरहेकी उनीसँग दुई पाथि अन्नका लागि साहुकाे बावर गरेका कथा छन्। दुनियाँले लगाएका वचन सुनेका व्याथा छन्। जसले हजार ठक्कर खुवायाे। कयाैं हन्डर खाइन र पनि उनले हार मानिनन्। आफ्नाे शरीरकाे भएभरीकाे बल लगाएर आवर बाउर गरिन्। अर्मपर्मा गरिन्। अैंचाे पैंचाेले गुजारा गरिन्।
यसरी आमाका हजार व्थाथासँगै हुर्किए लंक र उनकी दिदी। दु:ख कष्टकाे भारीले आमा थिचिदै जाँदा लंक बढ्दै गए। उनी बढ्दै गएपछि मामाघरबाट थाेरै सहयोग हुन थाल्याे। पढाइ सुरु भयाे। घरकाे अवस्था कमजाेर छ भनी थाहा पाएका स्कुलका मास्टरहरुले पनि सहयाेग गरे। उनलाई थाेरै सहज हुन। थाल्याे।
पाेखराकी एक जना दीपा नाम गरेकी म्याडम थिइन। उनले लंकलाई कापी कलमका साथै हप्ताको एक दिन मिठाे खाना पनि खुवाउँथिन। मिठाे खाना पाएकाे दिन उनलाई लाग्थ्याे, 'खाना यति मिठाे पनि हुने रहेछ।'
एक जना विदेशीले कापी बाँडेपछि उनलाई अध्ययन गर्न सहज भयाे। यसरी उनकाे एसएलसी सकियो। उनले दाेस्राे श्रेणीमा पास गरे।
कर्णाली प्राविधिक शिक्षालयमा थप अध्ययनकाे लागि सभ-ओभरसियरमा जिल्ला काेटाबाट एक नम्बरमा नाम निकालेका थिए। त्यतिबेला शिक्षालयमा थप अध्ययन गर्न शैक्षिक याेग्यताका प्रमाणपत्रसँगै नागरिकता पनि चाहिन्थ्याे। भर्ना भएकाे छ महिनासम्म नागरिकता बुझाउने कबुल गरेपछि पढ्न पाइन्थ्यो। त्यसरी नै उनी पढिरहेका थिए।
'तर जब छ महिना कट्याे, तब मैले नागरिकता बनाउनुपर्ने दिन आइपुग्याे। त्यसबेला नागरिकता बनाउन बुबा अनिवार्य चाहिन्थ्याे। बुबाले नागरिकता बनाइदिनु भएन,' उनले ती दिन सम्झिदै उदास मुद्रामा भने, 'मैले बीच बजारमा आँसुकाे भेल बगाए। बुबाले ती आँसुकाे माेल बुझ्नुभएन। मेराे नागरिकता बनेन। राेएरै मैले पढाइ छाेडेँ। ती दिन सम्झिँदा आज पनि आँङ सिरिङ्ग हुन्छ। आँखा त्यसै रसाँछन्।'
उनले रफ्तारमा कुदिरहेकाे पढाइमा पूर्णबिराम लगाए। तर, जीवनकाे म्याराथनमा बिरामा लगेकाे थिएन। बाँकी जीवन सहज पनि थिएन। त्यहीबेला उनले बुझे जीवन फूल बिछ्याइएकाे बाटाेमा हिँड्नु हाेइन। हजाराैं दुखसँग पाैंठाेजाेरी खेल्दै अगाडि बढ्नु हाे। राेएर हुने केही रहेनछ। राेएकाे सुनिदिने काेही रहेनछ भन्दै आफ्नै मन बुझाए।
हिउँद भैंसी गाेठा बान्ना, वर्षा भैंसी वन।
राेएकाे सुन्दिने काे छ?, नराे पापी मन।।
नागरिकता नबनेर पढाइ राेकिएपछि उनले बुबाकाे उपस्थिति अनिवार्य गराएर नागरिकता बनाएनन्। आमा मात्रै भएपनि नागरिकता बनाउने पाउने दिन कुरे र बनाए।
जतिबेला नागरिकता बन्याे त्यतिबेला पढाइ अगाडि बढाउनलाई समय घर्किसकेकाे थियाे। त्यसैले उतातिर ध्यान दिएनन्। उनका मामा जयलाल बानियाँले उनकाे भविष्य बनाउन ठूलाे भूमिका खेले। 'मामा मेराे भविष्य निर्माता हुनुहुन्छ। मलाई याे स्थानमा पुगाउनकाे लागि उहाँले ठूलाे भूमिका खेल्नुभएकाे छ,' उनले भने, 'मेराे बिहेमा भैंसीकाे पाडाे उपहार दिनुभयाे। त्याे ठूलाे हुँदै जाँदा अर्काे भैंसी पनि किन्न पाएकाे भए गुजारा गर्न सहज हाेला साेचेका थियाैं। तर पैसा थिएन।'
उनी गाउन, नाटक गर्न र नाच्नमा सिपालु छन्। त्यसबेला डिप्राेक्स नेपाल नाम गरेकाे एनजीओ थियाे। त्यसकाे हाकिम भएर जुम्ला आएका थिए, नेत्र पाैडेल। उनीहरु स्वच्छ खानेपानी सम्बन्धि तालिम चलाइरहेका थिए। त्यही तालिममा सहभागी हुने अवसर पाए लंकले।
तालिमले जिल्लाका दशवटा गाविसमा स्वच्छ खानेपानी सम्बन्धि जनचेतनामूलक नाटक देखाउने निर्णय गर्याे।
रडी(रहर मान्ने) उनले तीन महिना जति नाच्ने, गाउने काम पाए। जिल्लाका अधिकांश ठाउँ घुमे, डुले। अन्तिममा पारिश्रमिक स्वरुप ३० हजार रुपियाँ हातमा थापे। त्यसले उनकाे जीवनमा नयाँ माेड ल्याउन भूमिका खेल्याे।
'म नेत्र सरलाई आज पनि सम्झिरहन्छु। उहाँप्रति सदैब उच्च सम्मान रहेनछ,' उनले भने, 'आमा, मामा, गुरुआमा र उहाँ सर मेराे जीवनका ठूला सम्मानित व्यक्ति हुनुहुन्छ।'
आफ्नाे कला र गलाकाे सहायताले आर्जेकाे रुपियाँले भैंसी थपियाे। घरमा दुईवटा भैंसी भए। भैंसीकाे दूध बेच्दा घर धान्न सहज भयाे। केही बचत हुँदै गयाे। अब भैंसी पालनमै उनले आफ्नाे भविष्य देखे। भैंसी थप्दै गए। त्यसैले आजभोलि भैंसीलाई पनि आमाकै दर्जामा राखेका छन्।
दुध भन्दा कुराैंनी मिठाे, यी भैंसी आमाकाे।
ऋन तिर्न सकिन्न क्यार, दूध प्याउन्या आमाकाे।।
दूध बेचेर नै उनले सिमखाडाकाे बिर्कुम भन्ने डाँडामा घर र जग्गा किनेका छन्। उनकी दुई छाेरी बाेर्डिङ पढिरहेका छन्। खाना खर्च, छाेरीहरुकाे पढाइलेखाई, भैंसीलाई दाना पानी सबै खर्च घटाएर महिनामा १५ देखि २० हजार रुपैयाँ बचत गर्ने गरेका छन्। उनकी श्रीमती सुत्केरी भएर केही फुर्सद हुनेवित्तिकै भैंसी थपेर दैनिकीलाई थप बेफुर्सदिलाे बनाउने साेचिरहेका छन्।
उनी सानाे हुँदा खान लाउन पुग्दैन थियाे। मिठाे, मसिनाे खान चाडपर्व कुर्नुपर्ने उनकाे घरमा आजभोलि मिठाे, मसिनाेकाे हर्ज छैन। 'दूध, दहीमा डुबेर पनि किन माेटाउँदैनस् भनेर वरिपरिकाले भन्छन्,' उनले भने, 'खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा कहिले रानाे, कहिले कानाे भयाे। आजभोलि उस्ताे खाने मन पनि लाग्दैन। भयाे भनेर आकाश उड्नु पनि छैन। भएन भनी पातल छिन्नु पनि छैन।'
भैंसी पालनमा व्यस्त हुन थालेपछि गीत गाउनमा सिपालु उनी मेला पर्वमा समेत जाँने फुर्सद पाउँदैनन्। जात्रा हेर्न नगएकै १२ वर्ष भएकाे उनले ओैंला गनेर सुनाए। त्यसैले विगत सम्झन्छन्, आफ्नाे बालाे जाेवन सम्झन्छन्, भाेगेका अनगिन्ती दु:ख, कष्ट सम्झन्छन् र एक्लै गुनगुनाउँछन्।
भाइ भाेकै, भैंसेलाे भाेकै, मपन भाेकै छु।
बालाे जाेवन बाैला दुख, रात दिन राेकै(राेएकै) छु।