जुम्ला बाजारलाई मध्यविन्दु मान्ने हाे भने पूर्वतिर छन्, चन्दननाथ, भैरवनाथ मन्दिर। मन्दिर परिसरमा ठड्याइएका चारवटा लिङ्गाका ध्वजा, पतका पनि पूर्वतिर फरफराइरहेका देखिन्छन्। पश्चिम पट्टी छ, जिल्ला प्रशासन कार्यालय। दक्षिणतिर छ बजार प्रवेशद्वार। दक्षिणतिर लाग्दै गर्दा सिंगाे बजारकाे दर्शन गर्न मिल्छ।
सुरुमै भेटिने प्रशासन कार्यालायकाे नयाँ भवनकाे मुनितिर एउटा भवनमा ठूलाे सटर छ। त्यहीँ खाेलिएकाे छ, अर्गानिक मिनी मार्केट खुलेको छ। जसमा लागानी गरेकाे छ, चन्दननाथथ बहुउद्देश्यीय सहकारी संस्थाले। स्थानीय उत्पादनको संरक्षण, बजारीकरण र प्रवर्द्धनको लागि अर्गानिक मिनी मार्केट खुलेको चन्दननाथ बहुद्धेशीय सहकारी संस्थाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए।
मिनी मार्केटमा जुम्लाको स्याउ, स्याउबाट बनेका चाना, सिमी, आलु, मकै, कोदो, फापर, मार्सीधान, मार्सीधानको चामल, ओखर, टिमुर, चिनो, कागुनो, घ्यु, मह, चियापत्ती लगायतका स्थानीय उत्पादन बिक्रीका लागि राखिएको छ भने स्थानीय भेडाबाख्राकाे राैँबाट बनेका राडी, पाखी लिउ, सुइटर, कोटको कपडा, खरायोको उनबाट बनेका टोपी समेत राखिएको छ।
समूहका सदस्यहरुका उत्पादनलाई बजारसम्म पुगाउने, उनीहरुले लिएकाे ऋषकाे किस्ता तिर्न सहज हुने, आगामी दिनमा उत्पादन वृद्धि गरेर आर्थिक लाभ लिन सहज हुने उदेश्यले स्थानीय उत्पादनकाे बजार खाेज्नतिर लागेकाे पाण्डेले थपे।
उनले भने,'रैथाने वस्तुको महत्वका बारेमा प्रचारप्रसार गर्दै यहाँका किसानले उत्पादन गरेको अर्गानिक वस्तु बजार सम्म लैजान मिनी मार्केट खाेलिएकाे हाे।'
मिनी मार्केट एक वर्षदेखि सञ्चालनमा आए पनि व्यवस्थित रुपमा काराेबार गर्न थालेकाे १५ दिन जति भएकाे छ। याे अवधिमा पर्यटक नआएकाे दिन २० हजार बराबरको काराेबार हुन्छ भने पर्यटकहरुकाे चहलपहल हुँदा झण्डै एक लाख बराबरको काराेबार हुने गरेकाे छ।
मिनी मार्केट कर्णालीको आकर्षक पर्यटकी गन्तव्य चन्दननाथ र भैरवनाथ मन्दिर अगाडि रहेकाे छ। यसले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचिरहेकाे छ। हाल काठमाडाैं बुटवल, भैरहवा, पोखरा, सुर्खेत, नेपालगञ्ज लगायतका क्षेत्रबाट आन्तरिक पर्यटकले कोसेली स्वरुप जुम्लाको अर्गानिक सामान लैजाने गरेका छन्।
मिनी मार्केटमा कार्तिक लागेसँगै मार्सी चामल र सिमीको खरिद बिक्रीले बजार लिन थालेको हाे। सुपथ पसलका व्यापारीहरुका साथै भित्री मधेश तथा तराई झर्नेहरुले मार्सी चामल र सिमी किन्ने क्रम बढेको छ। मुगुको राराताल हेर्ने पर्यटकहरु जुम्ला भएर जाँदै गर्दा मार्सी चामल र सिमी लिने गरेकाे पाण्डेले बताए।
'अन्तर जिल्लाबाट आउने पर्यटकहरुमा सबैभन्दा बढी बुटवल, चितवनका पर्यटकहरुले मार्सी चामल र सिमी लिँदै आएका छन्,' उनले भने, 'अहिले त जिल्लाभित्रबाट बाहिर जाने हरेकले नासोको रुपमा जुम्लाकै उत्पादन किनेर लिने गर्दछन्। यसो गर्नाले यहाँको अर्गानिक वस्तुको प्रचारप्रसारमा टेवा पुगेको छ।'
हाल मार्सी चामल र सिमीको माग बढ्दो छ। तर, पूर्ति गर्न धौ भइरहेको छ। यसपालिको बाढीले मार्सी चामल र सिमीलगायतका बालीमा क्षति पुर्याएकाे कारण उत्पादन घट्न सक्ने कृषि विकास कार्यालयकाे अनुमान छ। जसले गर्दा माग अनुसारको पूर्ति गर्न समस्या हुन सक्ने अनुमान छ।
जुम्ली मार्सी धानकाे माग राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म छ। अघिल्लो वर्ष जुम्ला जुम्लाका राज बहादुर शाहीले मार्सी चामल र सिमी क्यानडासम्म पुगाएर बजारीकरण गरेका थिए। अहिले आफूलाई अमेरिकाबाट पचास क्वीन्टलकाे माग भए पनि पूर्ति गर्न सकिने अवस्था नरेहेकाे व्यवस्थापक पाण्डेले बताए।
चन्दननाथ सहकारी संस्थाले यो वर्षमा झण्डै ५० लाख रुपैयाँ बराबरको मार्सी चामल र सिमी खरिद गर्ने तयारी गरेको छ। ३० हजार दाना ओखर खरिद भइसकेको छ।
'अहिले उपयुक्त माैसम भएकाले आन्तरिक र बाह्य पर्यटकको आउँदा बिक्री हुने गरेको छ। सोही अनुसार अर्गानिक वस्तुको संकलन भइरहेको छ,' व्यवस्थापक पाण्डेले थपे, 'मिनी मार्केटको मागलाई संवोधन गर्न सहकारीले अहिले नगद बचतको ठाउँमा जीन्सी सामान उठाउने गरेको छ। सदस्यहरुसँग सधै नगद हुन्छ भन्ने छैन। नगद नहुने सदस्यले सिमी, चामल, फापर पनि दिन सक्ने गरि सहज बनाएका छौं।'
सहकारीले अर्गानिक वस्तु उत्पादन गर्ने किसानका लागि २० हजार रुपैयाँ बराबरको ऋण दिने गरेको छ। यो २० हजार रुपैयाँको सहकारीले ब्याज लिदैन। उनीहरुले यो रकम स्थानीय उत्पादनमा मात्र खर्च गर्न पाउने सर्त राखिएको उनले बताए। उनले भने, 'उनीहरुले उत्पादन गरेको वस्तु सहकारीले नै बजार सम्म लैजान्छ।'
झण्डै एक अर्व पूजी रहेकाे चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थामा १८ हजार सदस्य छन्। जसमध्ये १२ हजार सदस्यको अर्गानिक वस्तु मिनी मार्केटमा ल्याउने गरिएको छ। सहकारीले मिनी मार्केट खोलेपछि किसानको अर्गानिक बस्तु थन्किएको छैन।
सहकारीले आगामी दिनमा कृषि व्यवसाय र कृषि वस्तु उत्पादनमा लाग्नको लागि किसानलाई प्रेरित गरिरहेकाे छ। मिनी मार्केटमा सहकारी संस्थाका कर्मचारीले नै सामान बिक्रीकाे लागि याेगदान गरिरहेका छन्। सहकारीले उनीहरुलाई प्राेत्साहन स्वरुप भत्ता दिने व्यवस्था गरेकाे छ। हाल कर्णाली प्रदेशका छ जिल्लामा शाखा विस्तार गरेकाे सहकारीमा एक सय पाँच जना कर्मचारी कार्यरत छन्।
चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले जुम्लाकाे सिंजामा मदरल्याण्ड एकेडेमी र हिमा एकेडेमी गरि दुईवटा विद्यालय खोलेको छ भने पातरासीकाे लासि र तातोपानीकाे कँयकाेटमा गरी दुईवटा मेडिकल र दुई वटा सुपथ मूल्यका पसल खाेलेकाे छ। त्यस्तै जुम्ला र सुर्खेत गरी दुईवटा अर्गानिक वस्तुको मिनी मार्केट समेत संचालनमा ल्याएकाे छ।
२०७१ सालबाट सहकारीका लाग्दै आएका कुशल व्यवस्थापक पाण्डेले कर्णाली प्रदेश र संघकाे सहकारी ऐन अनुसार बहुउद्देश्यीय सहकारी संस्थाले बचत र ऋण बाहेक ७० प्रतिशत बहुउद्देश्यीय क्षेत्रमा काम गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा काम गर्दै आएकाे बताए।