स्वाभिमान गुम्यो, अभिमान उस्तै

इजलास तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने मिति निश्चित गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविना १८ न्यायाधीशको बैठक बस्न लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा भने बिदामा छन्। 

सम्भवतः १५ मंसिरदेखि लागू हुने गरी मिति तय गरिने एक न्यायाधीशले बताए । ‘बिहीबार फुलकोर्ट बस्ने भएको छ,’ ती न्यायाधीशले भने, ‘ईश्वर श्रीमान् हुनुहुन्न । त्यसैले हामी १८ जना बस्छौँ। अस्तिजसरी नै हामीले निर्णय गरेर प्रधानन्यायाधीशबाट हस्ताक्षर गराउने भन्ने कुरा भएको छ।’

गत बिहीबार १८ न्यायाधीशकै पूर्ण बैठकले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्नुका साथै र गोलाप्रथाको कार्यविधि पारित गरेको थियो । सोमबार उक्त नियमावली राजपत्रमा प्रकाशित भएको थियो। नियमावली लागू हुने मिति सर्वोच्चको पूर्ण बैठकले तय गर्नुपर्छ।

यसैबीच कानुनव्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बुधबार देशभरका १८ वटै उच्च अदालतमा विरोधसभा गरेको छ। पाटन उच्च अदालतको धर्नामा कानुन व्यवसायी रामशाहपथस्थित बार कार्यालयबाट पैदल हिँडेर पुगेका थिए। 

प्रकाशित मिति: : 2021-11-25 10:24:00

प्रतिकृया दिनुहोस्