नेकपा (एमाले)को दशाैं राष्ट्रिय महाधिवेशनलाई मूलतः तीनवटा कोणबाट बुझ्नुपर्छ। पहिलो, मुलुकको संविधान अनुसार राजनीतिक दलहरुले आफूलाई निश्चित समयावधिभित्र अद्यावधिक गरिसक्नुपर्छ। त्यो संवैधानिक व्यवस्थालाई सम्मान गरेर हामी दशौं महाधिवेशन गर्दैछौं। नवौ महाधिवेशन सम्पन्न भइसकेपछि यसबीचको समय २०७५ जेठ ३ गतदेखि २०७७ साल फागुनसम्म हामी जुन अवस्थामा पुग्यौं, त्यो समयलाई शून्य अवधि मान्दा बाँकी अवधि पाँच वर्षभित्रमा महाधिवेशन गर्नुपर्ने वैधानिक किटानी व्यवस्थालाई हामीले ख्याल गरेका हौं। विसं. २०७८ वैशाख १० गतेभित्र त हाम्रो अन्तिम समय हो। मङ्सिरमा नै नगरेर अलिक पछि गर्न पनि सकिन्थ्यो। तर, पहिलो कुरा मौसम चिसो हुने, दोस्रो स्थानीय तह निर्वाचनको बेला आइसक्ने भएकाले त्यस अगावै यो काम सम्पन्न गरिसक्ने योजना बनायौं।
दोस्रो, यो महाधिवेशनको सन्दर्भमा नेपालको राजनीतिक इतिहासमा पहिलो पटक पृथक अभ्यास गरेका छौं। त्यो भनेको, पहिले विधान महाधिवेशन सम्पन्न गर्ने, त्यसले नीति र विधिको टुंगो गर्ने र विधान महाधिवेशनले पारित गरेको नीति र विधानको प्रकाशमा त्यसबाट निर्देशित भएर नेतृत्व चयन गर्ने महाधिवेशन गर्ने अर्थात्, दुईटा महाधिवेशन। कतिपयलाई अनौठो लाग्न सक्छ, किन दुइटा महाधिवेशन? एउटा गरे भइहाल्थ्यो नि ! किन पुरानो चलन भन्दा फरक ढंगले आयो ! तर यसमा हाम्रा आफ्ना अनुभवमा आधारित केही तर्क, निष्कर्ष छन्। विधान महाधिवेशन नगर्ने हो भने, विधान पास गर्ने र नेतृत्व चयन गर्ने महाधिवेशन एकैचोटी गर्दा नीति र विधिमा राम्रो ध्यान नपुग्ने खतरा हामीले देख्यौं। नेतृत्व चयनको चटारोमा आम सहभागी केन्द्रित हुने जसले गर्दा नीति, विधि निर्माण गर्नमा ध्यान नजाने। नीति र विधिमा अलग्गै छलफल गर्दा समुन्नत निष्कर्ष निकाल्न सकिन्छ भन्ने हाम्रो बुझाई हो।
अघिल्लो महाधिवेशनमा हामीले कस्तो नीति पास गर्यौं, त्यसको कार्यान्वयनमा के–के समस्या आए भन्ने कुराको बस्तुनिष्ठ समीक्षा र त्यसको आधारमा आगामी योजनाहरु निर्माण गर्ने कुरामा एउटा उचाइबाट सन्तुुलित ढंगले गर्न हामीलाई सहज लाग्यो। नेतृत्व चयनकै बेला विधिको कुरा गर्ने हो भने अलिक–अलिक व्यक्तिकेन्द्रित प्रभावित हुने खतरा पनि हुन्छ। त्यस्तो नहोस् भन्नका लागि अलिकति निरपेक्ष ढंगले एउटा उचाइबाट विधानलाई व्यवस्थित गर्ने काम पनि हुन्छ भन्ने निष्कर्ष नवौं महाधिवेशनले निकालेको थियो। त्यो निष्कर्षलाई कार्यान्वयन गर्ने सिलसिलामा अहिले हामीले विधान महाधिवेशन आयोजना गर्यौं। त्यो विधान महाधिवेशन गत्तै अहिले नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशन गर्न गइरहेका छौं। हामीलाई के खुसी लागेको छ भने, नेपालका अरु राजनीतिक पार्टीहरुले पनि एमालेले गरेको यो अभ्यासलाई सकारात्मक ढंगले हेर्दै हुनुहुन्छ। उहाँहरुले पनि नेतृत्व चयन गर्ने र नीति निर्माण गर्ने महाधिवेशन अलग अलग गर्ने कुरामा छलफल गर्दै हुनुहुन्छ। एक अर्काबाट सिक्नु अनुचित होइन, राम्रो कुरा हो।
तेस्रो, एमाले अहिले यो नाममा भएपनि २००६ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टीकै निरन्तरता हो। एकता र एकीकरणबाट विकसित हुँदै यो नाममा, यो अभियानका साथ अगाडि बढेको हो। त्यसकारण इतिहासको त्यस प्रसङ्गसँग यसको अटुट सम्बन्ध छ। हाम्रो सन्दर्भमा यसलाई हामीले नयाँ ढंगले अगाडि बढाउन चाह्यौं, त्यो हाम्रो अनुभव, प्रयोगहरुको आधारमा यो ठाउँमा पुगेका हौं। त्यसकारण, यी तीन कोणबाट हाम्रो अहिलेको महाधिवेशनलाई बुझ्नुपर्छ।
हामीले नवौं महाधिवेशनमा निकालिएका निष्कर्षहरुको समीक्षा गर्यौं। र, अब नयाँ ढंगले कसरी अगाडि जानुपर्छ भन्ने बारेमा एउटा टुंगोमा पुग्यौं। यो महाधिवेशनमा हामीले एउटा नारा तय गरेका छौं— ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको विरोध गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं।’ मूलत आगामी दिनमा हामीलाई निर्देशित गर्ने लाइन भनेकै यही हो।
०००
महाधिवेशन भन्ने बित्तिकै पहिला त्यहाँ सहभागी हुने प्रतिनिधिको कुरा हुन्छ। विधान महाधिवेशनमा छ हजार तीन सय भन्दा बढी साथीहरुले सहभागिता देखाउनुभयो। त्यसमा छलफल गरेर हामीले सहमतिमा दस्तावेजहरु पारित गर्यौं। अब तीनै पारित दस्तावेजहरुबाट निर्देशित भएर आगामी राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन गर्छौ। यो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु तीन किसिमले आउनुहुन्छ। पहिलो, पदेन प्रतिनिधि। यो भनेको केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय आयोग निकायका सदस्यहरु। दोस्रो, भौगोलिक क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु। त्यो भनेको, प्रतिनिनिधिसभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने साथीहरु हुनुहुन्छ। त्यसको हामीले निश्चित मापदण्डका आधारमा निश्चित संख्याको आधारमा अनुपात निर्धारण गरेका छौं। जस्तो, १२०० संगठित सदस्य भएको ठाउँमा एक जना महिलासहित तीन जना। त्योभन्दा बढी भएमा त्यसपछिको ८०० सम्ममा एक जना, अर्को ८०० मा एक जना र तेस्रो ८०० मा एक जना गरी तीन जना, जसमा एक महिला अनिवार्य भनेका छौं। त्यस्तै केन्द्रीय विभाग, प्रवास, जनसंगठनबाट पनि निश्चित कोटा अन्तर्गत निर्वाचित हुने प्रतिनिधि र तेस्रो, यो सबै संख्याबाट पाँच प्रतिशत नबढ्ने गरी मनोनित प्रतिनिधि।
पहिले पहिलेका महाधिवेशनमा प्रतिनिधिहरु छानिनुहुन्थ्यो। महाधिवेशनमा सहभागी हुनुहुन्थ्यो। नेतृत्व छनोटमा निर्वाचन हुने भए मत हाल्नुहुन्थ्यो। सर्वसम्मत भए भइहाल्यो, सकिन्थ्यो। उहाँहरुको त्यो प्रतिनिधि बनेको कुरा सकिन्थ्यो। तर, यसपटक हामीले विशेष व्यवस्था गरेका छौं। ती प्रतिनिधिहरुको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् भन्ने एक प्रकारको स्थायी संरचना बनायौं। अहिले छानिनुभएका प्रतिनिधिको तीनवटा महत्वपूर्ण राष्ट्रिय मञ्चमा निर्णायक भूमिका हुन्छ। नेतृत्व चयन गर्ने यो राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन र बीचमा हुने विशेष महाधिवेशनमा अहिले छनोट हुनुभएका प्रतिनिधि साथीहरु नै अर्को पटक नछानिएसम्म रहनुहुन्छ। त्यसकारण, पहिले पहिलेको प्रतिनिधित्वभन्दा यस पटकको प्रतिनिधित्व फरक छ।
प्रतिनिधि छनोट तयारीका सन्दर्भमा, पदेन त स्वतः भइहाल्नुभयो। निर्वाचित प्रतिनिधिको छनोट करिव टुंगिएको छ। मनोनित हुने प्रतिनिधिका लागि केन्द्रीय कमिटीले स्थायी कमिटीलाई अधिकार प्रत्यायोजित गरेको छ। चाँडै स्थायी कमिटीले यसको पनि टुंगो लगाउँछ।
०००
वास्तवमा यतिबेला हाम्रो पार्टी एमालेले आफूलाई पुनव्र्यवस्थित गर्न खोजिरहेको छ। यस बीचमा एमालेको जीवनमा अनेक खालका अप्रिय कुराहरु पनि आए। एमाले एक्लैले २०७४ सालको निर्वाचनमा बहुमत ल्याएको होइन। त्यो गठबन्धनले ल्याएको हो। मान्छेले दुईतिहाई बहुमत ल्याएको पार्टी भन्छन्, तर त्यो होइन। हामी आफैँ बहुमतमा थिएनौं। हामी सबैभन्दा ठूलो पार्टी थियौं। एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउदा उठाएको कुरा के हो भने, निर्वाचनको घोषणापत्रमा हामीले आफ्ना प्रतिबद्धता व्यक्त गरेका छौं। आर्थिक विकास र समृद्धिका लागि के गर्छौं? राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको सन्दर्भमा के गर्छांै? सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा के गर्छौं? समग्रतामा देश विकास गर्ने कुरामा हामी के गर्छौ? भन्ने प्रस्तावहरुको प्रतिबद्धता हामीले घोषणापत्रमा उल्लेख गरेका छौं। सरकारको नेतृत्व गर्ने ठाउँमा पुगिसकेपछि नीति कार्यक्रम र बजेटमा तीनै प्रतिबद्धतालाई प्रतिविम्बित गराउने हो। हामीले गरेको त्यही हो।
वि.सं. २०७४ को निर्वाचनपछि बनेको सरकारलाई मान्छेले सामान्य सरकारका रुपमा लिएका छन्। तर यो सामान्य सरकार परिवर्तन मात्र थिएन। यो प्रणालीमा भएको परिवर्तन थियो। विसं. २०७२ सालमा संविधान जारी हुनुपूर्वको सरकारको एउटा रुप। संविधान जारी भइसकेपछि बनेको सरकार, त्यो प्रणालीमै परिवर्तन थियो। विगतका हाम्रा नीतिहरुमा आवश्यक परिवर्तन जरुरी थियो। कतिपय विधिमा परिवर्तन जरुरी थियो। र, संरचनामा परिवर्तन गर्नुपर्ने थियो। संविधान जारी भएपछिको पहिलो सरकार हाम्रो नेतृत्वमा बनेपछि हामीले ध्यान त्यसैमा दिनु पर्यो। त्यसमा नै लगभग दुई वर्ष बित्यो।
हामीले अगाडि सारेका कुरा के हुन् भने, यतिबेला राजनीतिक अधिकार प्राप्तिको लडाईं मुख्य कुरा होइन। संविधान र कानुनमा त्यसलाई निश्चित गरिसकिएको छ। अब राजनीतिक अधिकार प्राप्तिको लडाईंको कुरा गर्नुको अर्थ छैन। अब कोही मान्छे मारिँदैन, निर्वासित हुँदैन, भूमिगत हुनु पर्दैन। अर्थात् त्यो पहिलो पुस्ताको चरण भनेको राजनीतिक अधिकार प्राप्तिको लडाईँ गर्ने पार्टी वा व्यक्ति नेता बन्ने। तर यो कुराको ग्यारेण्टी भएपछि त्यो विषय सकियो। दोस्रो, नेपाली समाज विविधतायुक्त छ। बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधताले युक्त छ। यस्तो विशिष्टता भएको यो देश, हाम्रो नेपाली समाजको प्रतिविम्ब हुनुपर्छ राज्य सञ्चालनमा । राज्य सञ्चालनका अङ्गहरुमा समाजको विविधता झल्कनुपर्छ। त्यसको प्रतिनिधित्व हुनुपर्छ। यो कुराको लागि नेतृत्व गर्ने पार्टी र व्यक्ति नेता बन्ने हो। यो विषय पनि संविधान र कानूनबाट टुंगियो। अब तेस्रो पुस्ताको एजेण्डा भनेको आर्थिक विकास र समृद्धि हो। देश धनी हुनुपर्छ, जनता सुखी हुनुपर्छ। अब त्यो पार्टीले मात्र मुलुकलाई नेतृत्व गर्न सक्षम हुन्छ, जसले आर्थिक समृद्धि र विकासको योजना ल्याउँछ। अरु पार्टीहरु अब टिक्न सक्दैनन्। अब मान्छेको जीवनसँग गाँसिएको मुद्दा भनेकै आर्थिक विकास र समृद्धि हो। यो खाली नेताहरुले भाषण गर्ने, नारा लगाउने, दस्तावेजहरुमा लेख्ने कुरा मात्र होइन।
आर्थिक विकास र समृद्धिका तीनवटा पाटा छन्। पहिलो, आर्थिक विकास र समृद्धिका सन्दर्भमा नीति प्रष्ट हुनुपर्यो। जस्तो, कृषिका सन्दर्भमा के गर्छौं? खाली कृषि प्रधान देश भनेर मात्र हुँदैन। समृद्धिका लागि कृषि हाम्रो मूल आधार हो भने, कृषिमा, भूमिव्यवस्थामा हाम्रो नीति के हो? उद्योग, पर्यटन, जलस्रोतमा, वाणिज्यमा के गर्छौ? हरेक पार्टीहरुका अगाडि चुनौती के छ भने, हामीले आर्थिक विकास र समृद्धिका सन्दर्भमा ठोस नीति पहिचान गर्नुपर्छ। दोस्रो, ठोस कार्यक्रम के हो? नीति त बनायांै, ती नीतिका आधारमा कार्यक्रमहरु के हुन्? मान्छेले त्यो हेर्न चाहन्छन्। त्यसका लागि समयसहितको कार्यतालिका हुनुपर्यो। तेस्रो, आचरण के हो? मैले नेता विशेषको मात्र कुरा गरेको होइन, पार्टीको कुरा हो। आर्थिक विकास र समृद्धिको कुरा गर्ने पार्टी सरकारमा गएको बेला होस् वा प्रतिपक्षमा भएको बेला होस्, उसको आचरण के हो?
अब एमालेलाई सुदृढ बनाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने हाम्रो अभियानलाई साकार बनाउन एमाले दह्रो र सुदृढ हुनुपर्छ। विचारमा सुदृढ हुनुपर्यो। विचारमा एकरुपता भएन भने त्यो पार्टीले केही गर्न सक्दैन। हामीले राजनीतिक क्रान्ति सम्पन्न गर्यौं, सामन्तवादलाई ढाल्यौं तर त्यसका अवशेषहरु छन्। सामन्तवादका अवशेष अन्त्य हुनुपर्यो र दलाल पुँजीवादका विरुद्धमा संघर्र्ष केन्द्रित गर्नुपर्यो। राष्ट्रिय पुँजीको विकास गर्नुपर्यो, समाजवादको आधार निर्माण गर्नुपर्यो। हामी यो कुरा भन्छौं। यसरी अगाडि जाँदा हामी सरकारमा रहँदा पनि र नरहँदा पनि नीति, विचार, योजना निर्माण गर्ने गरी आफूलाई लैजानुपर्छ।
राष्ट्रिय राजनीतिको सन्दर्भमा बुझ्नुपर्ने अर्को कुरा के हो भने, हाम्रो देशको जनवादी क्रान्ति कस्तो हो त? यसका केही विश्व अनुभव हेर्नुपर्छ। युरोपियन मुलुकहरुमा १८ औं, १९ औं शताव्दीमा सामन्तवादका विरुद्धमा पुँजीवादी क्रान्ति भए। ती क्रान्तिमा पुँजीवादले जीत हासिल गर्यो। चीनमा जनवादी क्रान्ति यस्तो ढंगले सम्पन्न भयो कि उसले कसैसँग सहकार्य गर्नु परेन। श्रमजीवीहरुको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा त्यो क्रान्ति सम्पन्न भयो। हाम्रो देशमा यी दुवै खाले क्रान्ति भन्दा फरक खालका भए। श्रमजीवी वर्गलाई नेतृत्व गर्ने कम्युनिष्ट पार्टी र पुँजीवादी वर्गलाई नेतृत्व गर्ने काँग्रेससँग सहकार्य गरेर त्यो क्रान्ति सम्पन्न गर्यौं। क्रान्ति सम्पन्न गर्न सहकार्य गरियो। अब यी दुईटा बीचको प्रतिस्पर्धा हुन्छ। यो प्रतिस्पर्धामा यदि कम्युनिष्ट पार्टीले जित हासिल गर्दै अगाडि बढ्छ भने समाजवादको आधार निर्माण गर्ने दिशातर्फ जान्छ। यदी कम्युनिष्ट पार्टी त्यो प्रतिस्पर्धामा श्रेष्ठ बनेन भने क्रान्तिपछि प्राप्त भएका उपलब्धिहरु गुम्दै जान्छन्। यस्तो अवस्थामा हामी छौं। अहिले हामी नीति, कार्यक्रम र आचरणमा प्रतिस्पर्धाबाट गर्नुपर्ने र त्यसमा श्रेष्ठता हासिल गर्नुपर्ने अवस्थामा छौं। केका लागि भन्दा समाजवादको आधार निर्माण गर्नका लागि। यी कुरा बुझेर अब हामीले आफूलाई अगाडि बढाउनुपर्छ। यसका लागि एमालेले आफूलाई सुदृढ गर्न जरुरी छ। विचारमा अनेकता भएको, अलमल भएको एमालेको पंक्तिले पार्टी र मुलुकलाई नेतृत्व गर्न सक्दैन।
यो विचारलाई ठीक ढंगले बुझ्ने, ठीक ढंगले बोक्ने एमालेको पङ्क्तिमध्ये योग्यहरुबाट योग्यतम छान्नुपर्यो। यो महाधिवेशनले तीनै योग्यहरुमध्येबाट योग्यतम् छान्छ। नवौं महाधिवेशनमा हामीले अचम्मको दृष्टान्त प्रस्तुत गर्यौं। माथिदेखि तलसम्म प्यानल बनायौं। लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने नाममा अत्यन्तै विभाजनलाई बढावा दिने अभ्यास गर्यौं। लोकतान्त्रिक अभ्यास गर्नुपर्छ भन्ने तर त्यसको परिणामलाई स्वीकार गर्न नसक्ने संस्कार बोकिरहेको हाम्रो स्थिति थियो। त्यसका दुखद परिणामहरु प्रकट भए। लोकतान्त्रिक अभ्यासका नाममा भएका कामले एमालेभित्र गुटबन्दीलाई स्थापित गरिदियो। अब हामी योयहरुमध्येबाट योग्य छान्दा प्यानल बनाउँदैनौं। यो महाधिवेशनमा हाम्रो प्यानल बन्दैन। लिष्ट बाँडिदैन। हामी पूर्ण लोकतान्त्रिक अभ्यासमा जान्छौं। लोकतान्त्रिक भनेको प्रतिपस्र्धा गर्ने, चुनावमा उठ्ने, बाकस थाप्ने, एउटाले जित्ने, अर्कोले हार्ने भन्ने मात्र होइन। तर, सम्मान, सहमतिबाट नेतृत्व चयन भयो भने पनि त्यसलाई अलोकतान्त्रिक भन्न मिल्दैन। प्रतिनिधि छनोटमा पनि अधिकांश स्थानमा सहमतिमै भएपनि केही स्थानमा प्रतिस्पर्धा भयो। कहाँ रोकियो त?
०००
एमालेको विगतको यात्रा फर्केर हेर्दा, कतिपय बेलामा आफ्नो मौलिक अडान अलिक कमजोर भएको, जता पनि लपक्क भएको टिप्पणी पनि आए। एमालेका सबै नेता कार्यकर्ता जनस्तरबाट आएका यी टिप्पणीमा ध्यान दिनुपर्छ। मलाई लाग्छ,अहिले एमालेलाई त्यस्तो आरोप लाग्दैन। अर्को समावेशीको कुरा पनि उठ्ने गर्छ। नेपालका प्रमुख पार्टी हौं भन्नेहरुको केन्द्र र जिल्ला तहसम्मको नेतृत्व चार्ट बनाएर हेरौं न। एमाले र अरु पार्टीको समावेशिताको चित्र देखाईदिऊँ न। हामी कुनै पनि राजनीतिक पार्टी भन्दा समाजको यो विविधतालाई नेतृत्वमा उन्नत ढंगले प्रयोग प्रतिनिधित्व गरेका छौं। कम्युनिष्ट पार्टी भनेको विचारबाट निर्देशित हुनुपर्छ, समावेशिताका नााममा उपभोक्ता समिति जस्तो वनाउने होइन भन्ने कुरा पनि केही कोणबाट आउने गर्छ, तर समाजको विविधतालाई हाम्रो नेतृत्वमा उचित ढंगले प्रयोग गरिएको हुन्छ।
०००
यो महाधिवेशनबाट एमाले सदृढ छ, हिजो भन्दा पनि अझै सुदृढ हुन्छ भन्ने एउटा संकल्प र उद्घोष गरेर एमाले चिवनबाट फर्कन्छ। एमाले जतिसुकै समस्या खडा गरेर, अप्ठेरो पार्न खोजिए पनि ती सबैलाई चिरेर अगाडि बढ्न सक्छ र तमाम प्रतिकुलताको सामना गरेर एमाले नयाँ उचाईका साथ अगाडि बढ्छ भन्ने सन्देश यो महाधिवेशनले दिनेछ। नवयुगबाट