तिला गाउँपालिका –१ की कल्पना बुढा पहिलो पटक छुई (महिनावारी) हुँदा ५ दिनसम्म घर बाहिर लुकेर बसिन। गाउँका सबैले पहिलो पटक छुई हुँदा लुक्ने गरेकाले आफूलाई पनि लुक्नुपर्ने बाध्यता आइपरेको उनले बताइन्।
पछिल्लो समय गाउँपालिका, संघ संस्थाले छुईप्रथाको विषयमा छलफल र बहसलाई निरन्तरता दिने गरेको उनले देख्दै आएकी छिन्। छुई हुँदा घर घर बाहिर बस्न नहुने सिकेकी छिन्।
त्यसैले आजभोलि उनलाई छुइप्रथाले समाजमा महिलामाथि प्रत्यक्ष रुपमा विभेद गरिरहेको छ भन्ने लाग्छ। ‘छुई घरभित्र पस्दा देवता रिसाउँछन् भन्ने भ्रम छ,’ उनले भनिन्, ‘त्यो भ्रमको भुमरीमा महिलालाई राखिँदै आएको छ। यो राम्रो होइन।’
उनी थप्छिन्, ‘छुइप्रथा अन्त्य अभियानको अगुवाई महिलाले नै गर्नुपर्ने रहेछ। हामीले आत्मबल बलियो बनाएनौं भने पछाडि पर्ने रहेछौं।’
अहिले जुम्लाको तिला गाउँपालिकाले सामाजिक कुरीतिविरुद्धको अभियान नै थालेको छ। समाजमा लामो समयदेखि जरा गाडेर बसेको छुईप्रथा अन्त्यको लागि छुइगोठ मुक्त अभियान थालिएको हो।
यस अभियानलाई साथ दिन आइपुगेको छ, सर्वोदय नेपाल नामक संस्था। हरेक बस्ती छुई गोठमुक्त बनाइसकेपछि अहिले वडालाई समेत छुइगोठमुक्त बनाउन थालिएको हो।
छुई भएको महिला घरमा बस्न हुँदैन, मिठो खानेकुरा खानु हुँदैन, आराम गर्न हुँदैन भन्ने डरको मनोविज्ञानले जरा गाडेको हुनाले स्थानीय सरकार यो अभियानमा लागिपरेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए।
‘हामीले महिलामाथि हुने हरेक प्रकारका हिंसा विरुद्ध अभियान चलाउन जरुरी छ,’ उनले भने, ‘अहिले तिला गाउँपालिका सर्वोदय नेपालसँगको सहकार्यमा छुइप्रथा अन्त्यका लागि अभियानमा जुटेको छ।’
समाजमा विकृतीका रुपमा जरा गाडेर बसेको छुई प्रथा न्युनीकरणका लागि छुइगोठमुक्त अभियान थालिएको गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन्।
‘छुई प्रथा महिलाको वृद्धि विकासको बाधक हो। अब छुई प्रथालाई उन्मुलन गर्नु जरुरी छ,’ उनले भनिन्, ‘महिला सशक्तीकरण, लैङ्गिक समानता र विभेद न्यूनीकरणका लागि यो अभियान एक नमुना हुनेछ।’
गाउँपालिकाले सन् २०२१ भित्र गाँउपालिकालाई छुइगोठमुक्त बनाउने रणनीतिका साथ काम गरिरहेको छ।
‘पहिलो चरणमा छुइगोठबाट घरसम्म पु¥याउनेउ योजना छ,’ उपाध्यक्ष बुढाले भनिन्, ‘महिलाहरु छुई भएको बेला घरमा मात्र बस्न थालेभने धेरै सुरक्षाको अनुभुति गर्नेछन्। छुई प्रथाले महिलामाथि हुने गरेको हिंसा न्युनीकरण हुनेछ।’
छुइगोठमुक्त बस्ती घोषणा गर्नको लागि गाउँपालिकाले दुई पटकसम्म गहिरो तरिकाले छलफल गर्ने गरेको छ। गाउँका धामीझाँक्री, भद्रभलादमी, नागरिक समाज, सबै सचेत नागरिकलाई एकै थलोमा बोलाएर छुई प्रथाले समाजमा निम्तिएको विकृतिका विषयमा लामो छलफल गर्ने गरिएको छ। सहभागी सबैको सुझाव र सहमतिमा मात्र छुइगोठमुक्त घोषणा हुने गरेको छ।
त्यसपछि सबैले छुई भएको समयमा महिलालाई घरमै बस्ने प्रतिबद्धता गर्ने गरेका छन्। छुई भएको समयमा पोषिलो खानेकुरा खुवाउने, अधिकतम आराम गर्न दिने र सम्मानजनक व्यवहार गर्ने सामुहिक प्रतिबद्धता जाहेर हुन्छ। त्यसलाई व्यवहारमा उतार्न गाउँपालिकाले अनुरोध गर्छ।
प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम संचालन हुन्छ। जसका कारण छुई प्रथाले गर्ने असरका विषयमा सहजीकरण हुँदै आएको छ। गाउँमा छुई प्रथा मान्ने नमान्ने विषयमा संख्या एकीन हुने गरेको छ।
गाउँ तथा बस्ती स्तरीय सामुहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गर्ने कार्य बढाउने गरिएको उपाध्यक्ष बुढाको भनाइ छ। उनले थपिन्, ‘गाउँपालिका छुइ गोठमुक्त गरेर विकृति विरुद्धको सन्देश फैलाउने तयारीमा जुटेको छ।’
वडापालिका र गाउँपालिका स्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणा गर्ने गरिएको छ।
सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले पछिल्लो समयमा छुई प्रथाविरुद्ध महिला एकजुट भइरहेको बताए।
‘तिला गाउँपालिका ३३ वटा बस्ती छुइगोठ मुक्त भएपछि सिंगो गाउँपालिकालाई छुइगोठ मुक्त बनाउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘यो अभियान अहिले तिला गाउँपालिकामा चलिरहेको छ।’