मृत्युको मुखबाट फर्केकी उपप्रमुख

काठमाडौंप्रेस

सरिशा अछामी

 प्रेमकुमारी सुनार मुसिकोट नगरपालिका रुकुम (पश्चिम) की उपप्रमखु हुन् भने उनका श्रीमान् गोप्यश्वर केसी मुसिकोट नगरपालिका–१० का वडाध्यक्ष। यो अन्तर्जातीय जोडीको भेट र विवाह १० वर्षे जनयुद्धका बीचमा भएको हो। यी दुई श्रीमान्–श्रीमतीले २०७४ को स्थानीय तहको चुनाव जितेपछि निकै चर्चा चलेको थियो। बाहिरबाट हेरेजस्तो उनीहरूले सहजै चुनाव जितेका भने होइनन्, यसको पछाडि लामो संघर्षको कथा छ।

‘जनयुद्ध ठट्टा थिएन, परिवर्तनका लागि तरबारको धारमा हिँड्नु थियो, जीवन र मृत्युको दोसाँध थियो। जनयुद्धकै जगमा देशमा गणतन्त्र आयो। लामो संघर्षपछि हामीलाई आफ्नै क्षेत्रको विकास र सेवामा खटिने संयोग जुरेको हो,’ उपप्रमुख सुनार भन्छिन्, ‘गर्न धेरै थियो र छ– विकास निर्माणदेखि जनचेतनाका कार्यक्रम। कति गयौँ, कतिको सुरुवात गरिएको छ।’

प्रेमकुमारी र गोप्यश्वरको विवाह २०५९ माघमा भएको हो, पार्टीकै प्रस्ताावमा। हालको मुसिकोट नगरपालिका–१० का गोप्यश्वर २०४३ सालदेखि राजनीतिमा सक्रिय थिए। विवाह हुँदा उनी २९औँ वसन्तमा हिँड्दै थिए। जनयुद्धबाट फर्केपछि प्रेमकुमारी पश्चिम रुकुममा श्रीमान्सँगै बस्न थालिन्। जनयुद्धमा विवाह गरेको र दुवैजना माओवादीमा सक्रिय नेता भएकाले उनीहरुले घर–परिवार र समाजमा जातीय समस्या भोग्नुपरेन।

अहिले दुवै जनप्रतिनिधि भएकाले दुवैलाई दुवैको र घर–परिवारको पनि समर्थन छ। गोप्यश्वर भन्छन्, ‘एउटै नगरपालिकामा भएका कारण पनि हामी दुवैलाई सबैबाट सहयोग मिलेको छ, दुवैजनाले सरसल्लाह गरेर अगाडि बढ्न मद्दत पुगेको छ।’

प्रकाशित मिति: : 2021-11-18 16:19:00

प्रतिकृया दिनुहोस्