एकदिन दिदीले भन्नुभयो, ‘नानी बञ्जी हान्न जाउँ न।’ मैले भनें, ‘जीवनमा सब चिज गरिन्छ, तर त्यस्तो वाहियात काम चैं गरिन्न।’ उहाँले भन्नुभयो, ‘नानी लाइफमा एडभेन्चर भन्ने कुरा पनि त होला नि।’
मैले दिदीलाई जवाफ दिएँ, ‘जाबो बञ्जी हान्दैमा एडभेन्चर हुन्छ भने मलाई चाहिएन त्यो एडभेन्चर। बञ्जी सम्झिनेबितिक्कै मेरो त सात्तो उड्छ। जिउ नै सिरिङ हुन्छ। अस्ति नै साथीहरूले ग्रुपमा जाउँ न भन्दा एन्जाइटी नै भयो मलाई त। जीवनमा सब चिज गरिन्छ, बञ्जी चैं हानिदैन है दिदी। सरी, छोडिदिनू।’
मैले दिदीमा भएको आत्मबल पनि डाउन गर्न मद्दत गरें, ‘तपाई मभन्दा डरपोक हुनुहुन्छ, तपाईले झन सक्ने कुरै भएन।’
केही दिनपछि कामको सिलसिलामा रसुवा पुगियो। बञ्जी हान्ने व्यक्ति बहादुर हुन्छन् भन्ने प्रसंग निस्कियो। मनमा थोरै चिसो पस्यो। केही बोलिनँ। तर, आफू काँतर भएको महसुस भयो। आत्मग्लानी भयो। बञ्जी त बहादुर हुनकै लागि पनि हान्नुपर्छ जस्तो लाग्न थाल्यो।