डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन्।
एउटै भाषा, धर्म, संस्कृति भएका उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा राजनीतिक विकासका लागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेका हुन्।
बुधबार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन जना वडा अध्यक्षलाई माओवादी केन्द्रमा प्रवेश गराउन उपल्लो डोल्पा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी 'समक्ष'सँग छुट्टै जिल्ला घोषणाको माग गर्दै ६ बुधे मागपत्र पेश गरेका हुन्।
तीन गाउँपालिकाको बीचमा पर्ने धो'मा एक प्रशासनिक सेवा केन्द्र स्थापना गर्न, वर्षेनी राज्यको करोडौं रकम खन्याइए पनि कछुवाको गतिमा काम भइरहेको दुनै, ल्यासीक्यापदेखि धो'सम्म ट्रयाक खुलाउने जिम्मा सेनााइई दिनुपर्ने, नेपाल चीन जोड्ने मोरिम्ला नाका खुलाउन मागपत्रमा उल्लेख गरिएकाे छ।
त्यसैगरी धो, तिन्जे, छार्का हुँदै मुस्ताङ्सम्म सडक खुलाउन आवाश्यक बजेट विनियोजन गर्न, धो तरापमा हिमाली शहर निर्माण तथा एयरपोर्ट निर्माणका लागि विस्तृत रुपमा अध्ययन गरेर आवाश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।
उपल्लो डोल्पामा एक देश दुई नीति अवलम्बन गराउँदै स्थानीय जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउने र कात्तिकसम्म आर्थिक वर्ष राख्न समेत माग गरिएको छ।
मागपत्र बुझै माओवादी केन्द्रका नेताहरुले उपल्लो डोल्पालीको मागलाई पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए।
माओवादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं. १ का अध्यक्ष ग्याल्बो थापा भोटे, वडा नं. २ का अध्यक्ष छोइक्याप भोटे, वडा नं. ३ का अध्यक्ष पाल्जाङ्ग लामा रहेका छन्। त्यसैगरी वडा नं. ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङ्छुङ् गुरुङ्ग पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
प्रभावशाली जनप्रतिनिधिको प्रवेशसँगै उपल्लो डोल्पामा माओवादी केन्द्र बलियो भएको माओवादी नेताहरुले बताए। डोल्पो बुद्ध गाउँपालिका नेकपा एमालेको बलियो पकड क्षेत्रको रूपमा रहेको थियो।
नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा नेकपा एमालेबाट फ्लोर क्रस गरेर एकीकृत समाजवादीमा आएसँगै एमाले समर्थक नेता कार्यकर्तामा बिचलन देखिएको छ।
एमालेमा रहँदा प्रशस्त जनमत भएका बुढाले फरक पार्टीमा प्रवेश गरेपछि उपल्लो डोल्पाका जनप्रतिनिधिहरुमा बिचलन देखिएको हो।