शेयरबजारमा ठूलो अंकले 'करेक्सन', कारोवार रकममा वृद्धि

File Photo
File Photo

शेयर बजारमा मंगलबार ठूलो अंकले 'करेक्सन' भएको छ। नेप्से सूचकमा फराकिलो अंकको गिरावट आउँदा खरिदबिक्री रकममा भने वृद्धि भएको छ। नेप्से सूचक ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा अडिएको छ। ६ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। अल्पकालीन कारोबारीले नाफा बुक गरेकाले बजार प्रभावित भएको जानकारहरूको दाबी छ। २५ सय विन्दु आसपासबाट लगातारजसो बढेको बजारमा खासै ठूलो करेक्सन आएको थिएन।

सोही कारण अहिले स्वभाविक करेक्सन आएको विश्लेषकहरुको भनाई छ। यस बीचमा सेयर खरिद गरेकाले नाफा बुक गर्नतिर लाग्दा बजार प्रभावित भएको अनुमान गरिएको छ। यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने समय पनि नजिकिएको छ। यसबाट पनि सर्वसाधारण लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लागेको कतिपयको भनाई छ।

यस दिन २२५ कम्पनीको १ करोड १९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ। २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साहस ऊर्जा र अपि पावर परेका छन्। ३ वटा कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन्।

प्रकाशित मिति: : 2021-11-09 15:30:00

प्रतिकृया दिनुहोस्