कालीमायाले भाइलाई दिएको कलेजो उपहार

अनलाइनखबर

काठमाडौँ

आज भाइटीका । हिन्दु समाजमा दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई यमराजबाट जोगाउन भन्दै तेलको धारा दिएर छेक्ने, आइपर्ने दुःख र कष्टलाई ओखरसँगै फुटाउने गर्छन् ।

सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको कामना गर्दै भाइटीका लगाइन् ।

तर, कान्छो भाइ ४३ बर्षीय भोजबहादुर आलेलाई गम्भीर रोग लागेका बेला आफ्नो अंग कलेजो नै काटेर दिएर बचाइन् । भाइ भोजबहादुर कलेजो बिग्रिएर जीवनको अन्तिम क्षणमा थिए । चिकित्सकहरुका अनुसार यदि समयमा नै कलेजो प्रत्यारोपण नगरे मृत्यु निश्चित थियो । कालीमायाले भाइलाई कलेजो दान गरेर जीवन दिइन् ।

चितवन मेडिकल कलेजमा भाइको सफल कलेजो प्रत्यारोपणपछि अनलाइनखबरसँग कुरा गर्दै कालीमायाले भाइको जीवन बचेकोमा औधी खुसी लागेको बताइन् । कालीमायाका दुई दाजुभाइ छन् । भोजबहादुर सबैभन्दा कान्छा हुन् । ‘भाइटीका लगाउँदा दुई दाजुभाइ लहरै बस्छन् । त्यो लहरबाट भाइ गुमाउनु परेको भए मलाई खपिनसक्नुको पीडा हुने थियो’ कालीमायाले अनलाइनखबरसँग भनिन् ‘मैले सम्झिएँ, म मरे पनि मर्छु तर भाइलाई जोगाउँछु ।’ उनले जसरी पनि भाइलाई कलेजो दिएर बचाउने अठोट गरिन् ।

प्रकाशित मिति: : 2021-11-06 20:25:00

प्रतिकृया दिनुहोस्