भर्खरै नेपाली टेलिभिजनहरूमा ‘सिरियल’हरू देखिन थालेका थिए। २०४० काे दशकमा अशोक रोकाले ती सिरियलहरूमा देखिने सबैजसो ‘हिरो–हिरोइन’हरूलाई श्रृङ्गार्दै आएका थिए।
सिरियलहरूको त्यो बाढीसँगै नेपाली पर्दाहरूमा फिल्महरू पनि देखिन सुरू भइसकेका थिए। र, त्यही लहरमा चलचित्र ‘ज्वाला’ बन्ने भयो। हिरो थिए, राजेश हमाल। हिरोइन थिइन्– सिर्जना बस्नेत।
मुकुन्द बस्ताकोटी त्यो बेला चलेका सिरियलहरूमा चल्तीका ‘भिलेन’ थिए। र, राजेश हमालको ‘ज्वाला’ पनि उनैले निर्देशन गर्ने भए।
एकदिन बस्ताकोटीले भने– लौ रोका जी, अब फिचर फिल्ममा पनि श्रृङ्गार गर्नुपर्यो।
नाटक र सिरियलहरूमा कलाकार श्रृङ्गार्ने अशोक त दंगदास परे– अहो! त्यति ठूला हिरो हिरोनीलाई कसरी श्रृङ्गार्ने?
गौरी मल्ल अनि बसुन्धरा भुसालहरूले पनि ‘अब रोकाले फिचर फिल्म पनि सक्छ है। त्यतातिर पनि गर्नुपर्छ…’ भनेर हिम्मत बढाइदिएका थिए।
अब अशोक रोका राजेश हमालहरूलाई श्रृङ्गार्न कस्सिए।
‘ज्वाला’ त्यो समयको एउटा ठूलै प्रोजेक्टमा आएको फिल्म थियो। अशोक सेटमा पुगे। राजेश हमाललाई श्रृङ्गार्नुपर्ने थियो।
‘अहो! कस्तो भव्य सेट। सुरूमै ३५ वटा क्यामेरा…’ अशोक त एकछिन जिल परे।
एक जना सिनेमाटाेग्राफर थिए, जावेद। उनी रसियामा सिनेमाटाेग्राफी सिकेर आएका।
सकेजति अशोकले राजेश हमाललाई श्रृङ्गारेकै थिए। अनि ती जावेदले भने– कसले गरेको यो मेकअप?
अशोक डराई-डराई अघि सरे, ‘मैले गरेको सर…!’ अरूहरूले सुनाइरहेका थिए ‘उहाँले धेरै टेलिसिरियलहरूमा पनि मेकअप गरेको हो। छ-सात वर्षको अनुभव छ।