उनी बस्ने घरको झ्यालबाट साँझपख आइपुग्छ देउसीको लय। एकोहोरो घोराउँछन् उनी। अनि सम्झिन्छन् कालीकोटमा बाल्यकालमा भैलो खेलेको। तर, त्यो भैलो यतिखेर भट्याउँदैन थिए कर्णालीमा।
उनी बताउँछन्– कर्णालीका अधिकांश भागमा पुष पूर्णिमामा खेलिन्छ भैलो। हामी देउसी भन्दैनौं, भैलो मात्रै भन्छौं। तिहार त निकै पछि सुरुवात गरिएको आयातित संस्कृति हो कर्णालीका लागि। तथापि यो मौसम सम्झिन्छन् उनी र भन्छन्– जेसुकै भए पनि गाउँ गाउँ नै हो। त्यो ग्रमीण परिवेश अहिले पनि छाद हाल्न आइपुग्छ स्मृतिपटलमा।
चार वर्षको हुँदा आमा गुमाएका गायक तथा सांस्कृतिक अध्येता मोतिराज बमलाई खासै सम्झना छैन आमाको मुहारको अनि त्यतिबेलाको परिवेशको। नाबालक छदै ममतामयी आमाको काख छुटेपछि दुःखको के वर्णन गर्नु र। उनी भन्छन् –आमा बितेको दुई वर्ष जति भएको हुँदो हो एकदिन अति भोक लाग्दा दाइसँग भोक लाग्यो भनेँ। बिकल्प केही नभएपछि दाइले प्रेमपूर्वक भनिदिए सिस्नु माडेर खाऊँ। अनि कपडामा माडेर सिस्नो खाइयो। सानोछदा पाउनु दुःख पाएका तिनै मोतिराज २०४० सालमा कसरी कसरी काठमाडौं आइपुगे छन्। यो शहरमा धेरै दिन टिक्न नसकेपछि पुनः फर्किएछन् आफ्नै गाउँ। २०४७ मा पुन: काठमाडौँ आएर केही दिन धर्मदत्त उपाध्याय कहाँ बसेछन् अनि बिस्तारै लैनकुमार सुब्बा कहाँ भाँडा माझ्ने काम पाएछन्।
आफ्नाहरूले छोडेर जाँदाका ती दिनहरू, त्यो पीडा र दुखको गोरेटो कुनै उपन्यासका पात्रको भन्दा कम थिएन। तथापि हरेश खाएनन् उनले। हिँडिरहे जीवनको गोरेटोमा। जहाँ हरदम साथ पाइरहे जीवनसाथी विष्णु कुमारी बमको।
तिनै मोतिराज हुन्, जसले तीनवटा पुस्तक प्रकाशित गरेका छन् भने २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर कर्णाली क्षेत्रको कर्णप्रिय गीत तालमोरा पाइली हान दोरा (दोहरा) बोलको गीत लगायत चार वटा गीत रेकर्ड गराए।
रेडियो नेपालमा पनि उनले तितो अनुभव बटुले। उनी सुनउछन्– स्वर परीक्षा पास गरेका गायकले वर्षमा दुई वटा गीत रेकर्ड गराउन पाउँथे। तर, विडम्बना त्यतिखेर डेउडा भनेपछि कोही वाध्यवाधक आइदिदैन थिए। डेउडा गायकलाई त त्यो बेला गायक नै ठान्दैन थिए। शिवशङ्करले भनेपछि बल्ल वाध्यवाधकहरू स्टुडियोमा गए र मेरा गीत रेकर्ड हुन पुगे। शिवशङ्कर दाइले ठूलो गुन लगाए मलाई।
पछिल्ला दिनमा रेडियो नेपालको परिवेशबाट वाक्क बनेका बमले छोडिदिए रेडियो नेपालमा गीत रेकर्ड गराउने सपना देख्न। बाहिर गीत रेकर्ड गराउन पनि आर्थिक अवस्थाले दिन्न थियो साथ। यिनै कारणले गायन क्षेत्रबाट पलायन भए उनी। त्यसपछि केही समय पत्रकारीता क्षेत्रमा तल्लिन भए। त्यही रेडियो नेपालको सम्बाददाता बने। नेपालवाणी, समाचारपत्र, गोरखापत्र संस्थान लगायतमा रिपोर्टर बनेर काम गरे।
२०५४ सालमा प्रेम बिबाह गरेका बमका एउटा छोरा एउटी छोरी लगायत चारजनाको सुन्दर परीवार थियो। श्रीमती कालीकोटमा शिक्षण गर्न थालेकी थिइन। उनी कर्णाली क्षेत्रको संस्कृतिको अध्ययनमा तल्लिन थिए। एकाएक आकाश खसेझैं भयो। दैवले उनी माथि बज्र प्रहार गरे। १५ वर्षको कलिलो उमेरमा छोराले धर्तीबाट बिदा लिएपछि आफूलाई सम्हाल्न निकै कठिन पर्याे।
हिजोआज सामाजिक कार्यमा तल्लिन भइरहेका बमसँग जिन्दगीको कुरा गर्दा भनिदिन्छन्– आफैसँग पनि विश्वास नहुने एउटा नियति त रहेछ आखिर यो जिन्दगी भन्नु पनि।
अनि गुनगुनाउछन् उनी वर्षौअघि आफूले स्वर दिएको गीतका दुई पक्तिः
को बैरीले चल्लो लैग्यो खोलेसा माउ छैन्
शरीरमा सन्चो छैन् देखिदो घाउ छैन्