‘हामीले भन्दा रमाइलो देउसी न्यायालयले नै खेलेको छ’

अनलाइनखबर

काठमाडौँ

यस वर्ष पनि देउसी-भैलो खेलेको भए सिस्नुपानी नेपालले प्रत्येक वर्ष तिहारमा देउसी खेलेको २५ वर्ष पुग्थ्यो । तर कोरोना महमारीमा ठूलो जमघट गरेर सार्वजनिक समस्या निम्त्याउन कलाकारहरूले रूचाएनन्।

सिस्नुपानीका महासचिव टंक आचार्यले भने, ‘समस्या निम्त्याउने र जनतालाई सास्ती दिने काम त नेताहरूले गरेका छन्। हामी त जनताका सारथी बन्न चाहन्छौं।’

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रत्येक वर्ष तिहारको  उपलक्ष्यमा गरिने ‘सिस्नुपानी देउसी-भैलो’मा प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेता तथा उच्चपदस्थ कर्मचारी र दर्शकको उपस्थिति रहन्थ्यो। सबैजना जम्मा हुँदा कोरोना संक्रमणको सम्भावना भएकाले नै यस वर्ष संस्थाले देउसी-भैलो कार्यक्रम नगर्ने निर्णय गरेको हो।

भौतिक रूपमा देउसी नखेले पनि सिस्नुपानीका टंक आचार्य र धीरेन्द्र प्रेमर्षिले हामीलाई देउसी-भैलोका रमाइला गीतहरू सुनाए। ‘यस वर्ष पनि देशको अवस्था उस्तै छ। खबरदारी नगरी त सुखै छैन,’ उनीहरूले भने ।

त्यसो त सिस्नुपानीले गर्ने देउसी-भैलो कार्यक्रममा देउसी मात्र नभई हास्यव्यंग्यले नै बढी प्राथमिकता पाउँछ। देउसी-भैलोका गीतमा देशको अवस्था र नेतृत्वलाई गरिएको व्यंग्य मिसाएर ‘क्यारिकेचर’समेत गरेर उनीहरूले सिस्नुपानी देउसी-भैलो कार्यक्रम गर्छन्।

प्रकाशित मिति: : 2021-11-04 09:39:00

प्रतिकृया दिनुहोस्