छिमे तामाङ जान्ने बुझ्ने भएदेखि नै उनका वरिपरि याक र चौंरी थिए। हुर्किँदै गर्दा रसुवाको लाङटाङ हिमालको काखका फाँटहरूमा बाबुबाजेसँगै याक डुलाउने उनको दैनिकी बन्यो।
अहिले ५२ वर्ष लागेका छिमेको गोठमा एउटा चौंरीसँगै २४ वटा याक छन्। समुद्र सतहदेखि साढे तीन हजार मिटर उचाइमा रहेको लाङटाङ र केन्जिङ उपत्यकामा उनको परिवारको गुजारा यिनै याक र बारीमा लगाइएको आलु र फापरमा निर्भर छ।
पछिल्लो समय भने याक पाल्न छिमेलाई निकै कठिन भइरहेको छ। माइनस ४० डिग्री सेन्टिग्रेडको तापक्रमसम्म बाँच्न सक्ने याकलाई अचेल गर्मीले सताउँछ। गर्मीकै कारण याक मर्न थालेपछि छिमेको परिवार चिन्तित छ।
याकहरू तीनदेखि पाँच हजार मिटर उचाइका पहाडमा चर्न सक्छन्। याक र पहाडी गाईको मिश्रणबाट जन्मिएका चौंरी २५ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा बाँच्न सक्छन्।
हिमाली क्षेत्रमा बढ्दो तापक्रमको असर विस्तारै याकहरूमा देखिन थालेको हो। तापक्रम वृद्धिबारे छिमे जानकार छैनन्। तर उनलाई आफ्नो याकलाई गर्मीले असर पारिरहेकाबारे खुबै थाहा छ।
'याकलाई गर्मी लागेपछि रिंगटा लाग्दो रहेछ। बुट्यानको छायाभित्र पसेर ह्याँह्याँ गर्छ। त्यसको एक-दुई घन्टामा मरिहाल्छ,' छिमेले भने, 'याकलाई गर्मी लाग्न हुँदै हुँदैन। स्वाँस्वाँ गरेर मेरै चार-पाँच वटा याक मरे।'