गीतले हाइप लिएको थियो। स्वरमा दम थियो। व्यक्तित्व आकर्षित थियो। मान्छहेरू भन्न थालेका थिए, 'यति राम्रो गीत गाउन सक्नेसँग संगीतको बृहत्तर ज्ञान पक्कै छ। संगीतमा लाग्ने नयाँ पुस्तालाई सिकाए नेपाली संगीत क्षेत्रले केही पाउँथ्यो।'
मान्छेहरूलाई के थाहा थिएन् भने राम्रो गाउँदैमा वा स्वर राम्रो हुँदैमा उसले संगीतका सातै सुरमा विज्ञता हासिल गरेको हुँदैन।
तर, समय र परिस्थितिले वि.सं. २०५७ सालतिर गायक तथा सर्जक नरहरि प्रेमीलाई संगीत सिकाउने जोखिम आइलाग्यो। त्यसबेला उनको भाका-१ एल्बम निकालिसकेका थिए। जुन चर्चामा थियो। काठमाडौंको बागबजारमा एक कलाकेन्द्र थियो। अग्रज शान्तिराम राई र उनको तस्बिर राखेर यहाँ संगीत सिकाइन्छ भन्ने पोस्टर टाँसिएको थियो।
त्यो देखेपछि अब संगीत सिकाउँ न त भनेर उनी पनि त्यहाँ पुगे। फरक-फरक भूगोलबाट संगीतको सागरमा पौडिन आएका विद्यार्थीलाई संगीतको प्रारम्भिक ज्ञान सिकाउन थाले उनले। त्यही समूहमा एक विद्यार्थी यस्ता आए, जसले संगीतको राम्रो दख्खल राख्थे। ती विद्यार्थीले संगीतका विभिन्न आयामबारे प्रश्न सोध्थे। एकदिन पनि उनी त्यस्तै प्रश्न बोकेर आए। ‘भाष्ट’ प्रश्न के थियो अहिले उनले भुले। तर, यति थाहा छ‚ त्यसमा प्रेमीको ज्ञान थिएन।