विभिन्न आन्दोलन र परिवर्तनपछि पनि नेपाली संगीतको अन्तर्वस्तु किन उही छ ?
अल्बर्ट आइन्स्टाइनले गुरुत्वाकर्षणको तरंग र प्रसारणसम्बन्धी भविष्यवाणी गरेको एक सय वर्षपछि सन् २०१६ मा अन्ततः उक्त भविष्यवाणी सही साबित भएको समाचारले संसारलाई तरंगित बनायो। विभिन्न आन्दोलन, परिवर्तन र आविष्कारले संगीतमा गहिरो प्रभाव पारेको हुन्छ। विशेषगरी संगीतलाई ध्वनिहरूको व्यवस्थित संरचनाको रूपमा मात्र बुझ्ने दृष्टिकोणले संगीतलाई आन्दोलन, परिवर्तन र आविष्कारबाट सधैँ टाढा पुर्याउँछ र त्यो भनेको अन्ततः संगीतबाटै टाढा पुग्नु हो। वास्तवमा संगीत त्यो संज्ञान हो, जसले हरेक प्रक्रियालाई व्यवस्थित गरी कुनै पनि कार्यलाई सम्भव तुल्याउ“छ। संगीतमा अन्तर्निहित आन्दोलन पहिचान गर्न नसकेको मूल्य मानिसले हिँड्दा–हिँड्दै लडेबाट तिरिरहेको हुन्छ।
प्रस्तर युगदेखि मानव समाज सभ्यताको प्रयाणकारी सिलसिलाबाट अघि बढ्दै यहाँ आइपुगेको छ। यसमा संगीतको देन छ। हामीले कुनै बिउ रोप्यौँ र त्यसबाट बिरुवा उम्रियो। त्यो एउटा निर्दिष्ट संगीतमा अन्तर्निहित आन्दोलनको कारणबाट सम्भव भएको हो। बिउ एउटा बिरुवा बन्ने निष्कर्षमा संगीतमा अन्तर्निहित आन्दोलनको एउटा निश्चित द्वन्द्वयुक्त शृंखलाको व्यवस्थित प्रक्रियाले पार गरेको हुन्छ।
प्रकृतिको संश्लेषण नै संगीत हो। द्वन्द्व विकल्पको आग्रहबाट सुरु हुन्छ र त्यसको औचित्य अर्को परिष्कृत द्वन्द्वको तहमा पुगेबाट पुष्टि हुन्छ। द्वन्द्वमा अन्तर्निहित जति पनि प्रक्रियाहरू हुन्छन्, तिनीहरूले संगीतमा अन्तर्निहित आन्दोलनको उत्कृष्ट छनोटद्वारा प्रयाणकारी प्रवृत्तिलाई धारण गर्छन् र बिउलाई निषेध गर्ने वातावरणको निर्माण गरी बिरुवा हुने प्रक्रियालाई सम्भव तुल्याउ“छन्। संगीत निष्कर्षभित्रको प्रक्रिया हो र प्रक्रियाभित्रको व्यवस्थित निष्कर्ष हो।