सवारी लाइसेन्स निकाल्न ‘महाभारत’ : देखिएन प्रविधिमा सुधार, हटेनन् बिचौलिया

बाह्रखरी

काठमाडौं

काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको सवारी लाइसेन्सको नयाँ आवेदन गत मंगलबारदेखि खुलेको थियो । लामो समयदेखि पर्खाइमा बसेका आवेदकहरू अब नयाँ लाइसेन्स निकाल्ने तयारीमा थिए । 

तर, विभागले लाइसेन्सको नयाँ आवेदन खुलेको दुई दिनमै प्राविधिक कारण देखाएर आवेदन बन्द गरेको छ । 

विभागमा आवेदन दिएर लामोसमयदेखि परीक्षाको पर्खाइमा रहेका चार लाखभन्दा बढी सवारी चालकको परीक्षा हुनै बाँकी छ । धेरै संख्या भएकाले विभागले लाइसेन्सको नयाँ आवेदन खुलाएपनि ट्रायल परीक्षा दिन ७–८ महिनासम्म कुर्नुपर्ने अवस्था थियो । तर, विभागले प्राविधिक कारण देखाएर आवेदन नै बन्द गरेपछि यो अवधि अझै लम्बिने देखिएको छ ।

विभागका प्रवक्ता लोकनाथ भुसाल प्राविधिक समस्या हल हुनबित्तिकै पुनः आवेदन खुलाइने बताउँछन् । ‘‘अहिले प्राविधिक कारणले दुईदिनअघि मात्रै खुलेको लाइसेन्सको नयाँ आवेदन बन्द गर्नुपर्‍यो । हाम्रो सिस्टममा समस्या देखिएपछि  बन्द गर्नुपरेको हो । सिस्टम मर्मत भइरहेको छ,” प्रवक्ता भुसालले भने ।
 

प्रकाशित मिति: : 2021-10-28 20:14:00

प्रतिकृया दिनुहोस्