शनिबार, ०८ नोभेम्बर २०२५

तिहार आएसँगै ढाका टोपीको व्यापार बढ्यो [भिडियाे]

News Image
• • •

नेपालीकाे माैलिक पाेसाक ढाका टाेपीकाे महत्व अनेकाैँ छन्। यसलाई नेपालीकाे शानका रूपमा पनि लिन्छ। विभिन्न चाडपर्व तथा कार्यक्रमा यसकाे प्रयाेग विशेष हुन्छ। त्यस्तै जनवरी १ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसकाे रूपमा पनि मनाइने गरिन्छ।

तिहारमा फूल, माला लगायतकाे जति महत्व हुन्छ ढाका टाेपीकाे पनि महत्व त्यतिनै हुन्छ। तिहारमा भाइ टीकाको दिन दिदी–बहिनीले दाजु–भाइलाई टिका लगाएर उपहार स्वरूप ढाका टोपी दिने प्रचलन छ। त्यसैले तिहारमा ढाका टाेपीकाे व्यापार बढी हुने गर्छ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाका टोपीले हरेक दाजुभाइ तिहारको दिन सझिने गर्दछन्। तिहारमा ढाका टोपी लगाइदिँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजु भाइलाई उपहारको रुपमा साैहार्दपूर्वक ढाका टोपी दिने प्रचलन छ। त्यसैले तिहार नजिकिदै गर्दा ढाका टोपीको व्यापार पनि बढ्ने व्यवसायी बताउँछन्। अघिल्लो लकडाउनमा अफ सिजन भए पनि व्यापार राम्रै भएको व्यवसायीहरु बताउँछन्।

तिहार केही दिन अघिदेखि ढाका टोपीको व्यापार निकै राम्रो हुने गरेको व्यवसायीहरू सुनाउँछन्। काठमाडौंको असनमा विगत पाँच वर्षदेखि ढाका टोपी व्यापार गर्दै आएकी रञ्जिता मगरले अन्य समयको तुलनामा ढाका टोपीको व्यापार तिहारमा निकै राम्रो हुने सुनाइन्।

‘पछिल्ला केही दिनमा विभिन्न कार्यक्रमा तथा विवाह महाेत्सव हुने समयमा ढाका टाेपीकाे व्यापार राम्राे हुन्छ, त्यसमा पनि तिहार त ढाकाकाे व्यापारका लागि मुख्य सिजन हाे’ मगरले भनिन्।

उनका अनुसार ढाका टोपीकाे न्यूनतम मूल्य ५० रुपैयाँदेखि अधिकतम ९ हजार रुपैयाँसम्म पर्छ। ढाका टोपी लगाउन सोखिन व्यक्तिले मूल्यसँग तुलना नगर्ने बताउदै उनले भनिन्,‘कतिपय मान्छे ढाका टोपीको सोखिन हुन्छन्। उनीहरु मूल्यभन्दा पनि गुणस्तरमा ध्यान दिन्छन्।’

ढाका टाेपी धेरै जसाेले तिहारमा मात्रै लगाएर अरू बेला थन्काउने हुनाले महङ्गाे टाेपी किन्न जरूरी नहुने केही मानिसहरूकाे धारणा रहेकाे छ।

भक्तपुरकी रमा पराजुलीले आफ्ना दाइका लागि ढाका टोपी किन्दै गर्दा भन्छिन्, ‘अरुबेला नलगाए पनि तिहारमा मखमली र सयपत्रीले सझिएको गलालाई झन् सुन्दरमय बनाउन मैले हरेक वर्ष मेरो दाईको लागि ढाका टोपी किन्ने गर्छु। ढाका टाेपीले साैन्दर्यता मात्रै हाेइन वीरता पनि झल्काउछ।’

यसपटक पनि सबै क्षेत्रमा काेराेना महामारीकाे प्रभाव परे पनि ढाकाकाे व्यापारमा कमी नआएकाे व्यवसायीहरूले बताएका छन्। गत सालकाे भन्दा यसपटक ढाका टाेपीकाे व्यापार राम्राे भएकाे रञ्जिता मगरले बताइन्। तिहारमा अझै यसकाे व्यापार बढ्ने उनकाे आंकलन छ।

विशेष गरी मंसिर, माघ, फागुन, वैशाख, जेठ, असारमा पनि ढाका टोपीको बिक्री बढ्ने गर्छ। पोखरा, पाल्पा, धरान, तेह्रथुमलगायतका जिल्लाबाट काठमाडौँ ढाका टाेपी भित्रिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!