हेर्नुछ अब राणा साहेबको हविगत!

अभिशप्त छ सर्वोच्च अदालत

आयोमेल

काठमाडौं

वि.स. २०४७ यता चोलेन्द्र शमशेर २२औं प्रधानन्यायाधीश हुन्। अन्तत: यिनी पनि महाविवादमा परेका छन्। यस श्रृङ्खलाका प्रायस: चर्चित न्यायाधीशहरू गम्भीर विवादमा परेर अत्यन्त अपमानित भएर बाहिरिए। उनीहरूको अवकाश पश्चातको सार्वजनिक जीवन सहज रहेन।

विश्वनाथ उपाध्याय समकालीनमध्ये सर्वाधिक चर्चामा रहे। वि.स. २०४७ सालका बहुदलीय संविधानका उनी मुख्य निर्माता थिए। दरबारका सहमा सेनाका जर्नेलहरू बुट बजार्दै संविधान मस्यौदा समितिको अफिस पुगेका थिए। नवोदित एमालेको अनेकन् कठिन सुझावहरू थिए, जो संविधानवादसँग मेल खाँदैनथ्यो। यस्तो कठिन समयमा विश्वनाथ उपाध्यायले संविधानको मस्यौदा तयार पारेका थिए। तर, केही वर्ष नबित्दै उनी एमाले पार्टीको नजरमा अपराधी ठहरिए।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सिफारिश गरेको संसदको विघटनलाई सदर गरे र पछि प्रम मनमोहन अधिकारीले सिफारिश गरेको संसदको विघटनलाई बदर गरेर उनी नेपाली कांग्रेसका गिरिजाविरोधी खेमा तथा एमाले पार्टीको कोपभाजनमा परे। यसका अतिरिक्त आफ्ना सहोदर भाइ केदारनाथ उपाध्यायलाई सर्वोच्च अदालतमा प्रवेश गराए। साथै उनीभन्दा वरिष्ठ न्यायाधीश कृष्णजंग रायमाझीलाई पन्छाएर न्यायपरिषदको सिफारिशमा प्रधानन्यायाधीश हुनु विवादजन्य कारण मानिन्छ। यहीँबाट एमालेले सर्वोच्च अदालतलाई स्वार्थको सर्वोच्च स्थानमा राख्यो, कांग्रेसले पनि सोही कुराको अनुशरण गर्दै गयो।

एमालेले अर्का प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहलाई पासोमा पार्‍याे। उनीविरूद्ध संसदमा महाअभियोगको प्रस्ताव लिएरआयो। तत्कालीन सभामुख रामचन्द्र पौडेलले सभामुखको विशेषाधिकारको आधारमा सो प्रस्ताव उपर छलफल गर्न अस्वीकार गरेपछि सभामुख पौडेल माथि शारिरिक प्रहार भयो। मध्यरातमा एमालेका सांसदहरूले सभामुखको कार्यकक्ष फुटाए। शायद एमालेको यस प्रकरणले पहिलो पटक स्थापित गर्‍याे कि न्यायाधीशको आसनमा निर्विघ्न बस्न राजनीतिक शक्तिको पक्षपोषण गर्नु जरूरी छ। सुरेन्द्रप्रसाद सिंह आफ्नो आँखाका आँशु आँखामै सुकाएर अवकाश भए। आफुले भोगेको अपमानबारे यिनी पछिसम्म सुनाइरहन्थे।

प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायलाई नेपाल बारले अकर्मण्य ठहराएकाे थियाे। यिनको समयमा सरकार माओवादीहरूलाई आतंककारी घोषित गरेको थियो। तर, यिनी माओवादीमैत्री रहेको आरोप तत्कालीन सरकारका मन्त्रीहरूले लगाउने गर्थे। ठिक यसविपरीत माओवादीले भने जिल्ला भ्रमणको क्रममा यिनको मोटरलाई एम्बुसमा पारेका थिए, यिनको ज्यान जोगियो।

प्रकाशित मिति: : 2021-10-27 20:34:00

प्रतिकृया दिनुहोस्