दैलेख नारायण नगरपालिका खुर्सानीबारीकी सरस्वती हमाल(योगी)को सात जनाको परिवार थियो। नचिनेका व्यक्ति आएर उनका घर परिवारलाई बेलाबेला तनाव दिइरहन्थे। भन्थे, ‘तेरो दाई खोई, नत्र तिमिहरुको घरपरिवार रहदैनौँ। यसरी धम्की दिनेहरु थिए - सशस्त्र द्वन्द्वका विद्रोही पक्ष।
त्यत्तिबेला माओवादीलाई युवा केटा होस् या केटी करकाप र धम्कीले विद्रोहमा लाग्न दबाव दिन्थे। त्यसैगरी दबाव दियो सरस्वतीको घरपरिवारलाई पनि।
विद्रोही पक्षले मात्रै नभएर सरकार पक्षबाट पनि उस्तै तनाव थियो। दुवै पक्षको दबाव र पीडा सहन नसकेर कक्षा ८ मा पढ्दै गर्दा २०५९ सालमा विद्रोहमा होमइन् सरस्वती।
उनी मात्रै नभएर परिवारका कान्छी सानी बहिनीबाहेक अन्य ३ बहिनी र दाइ पनि सँगै होमिए। आमाबावु र बहिनीको माया मारेर भूमिगत बने। राज्य र विद्रोही दुवै पक्षको दबाव सहन नसकेर लाग्यो ‘कि अरुलाई मारौँला, कि आफू मरौँला’। अनि सुरु भयो विद्रोहको यात्रा।
‘घरमा आएर दिनदिनै दाइलाई सँगै हिड्नुपर्छ नत्र जे पनि हुन सक्छ भनेर माओवादीले धम्की दिने,’ सरस्वतीले भनिन्, ‘अर्कोतिर सेनाले तेरो दाइ खोइ भन्ने र माओवादीको सिआईडी भनेर दुवै पक्षबाट घरपरिवारलाई नै पीडा दिन्थे, त्यही पीडा सहन नसकेर कि आफू मरौँला, की अरुलाई मारौँला भनेर भूमिगत हुन बाध्य भयौँ।’