प्रधानन्यायाधीशले अन्तरिम आदेश दिए, भाइले ऋण लिए

अनलाइनखबर

काठमाडौं

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले अन्तरिम आदेश दिएको एक मुद्दासँग सम्बन्धित पदाधिकारीबाट उनका परिवारका सदस्यले लाभ लिएको भेटिएको छ । जबराले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जागिर थमौती गर्न अन्तरिम आदेश दिएका थिए । उनका भाइ प्रभुशम्सेर जबराले सीईओको आदेशबाट ऋण लिएको भेटिएको हो ।

दुई वर्षअघि २२ साउन २०७६ मा दर्ता भएको उक्त मुद्दा एकपटक बाहेक सुनुवाइ नै भएको छैन । मुद्दा दर्ता भएको एक सातापछि साउन २८ गते प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिएका थिए । त्यसपछि उक्त मुद्दा एकपटक मात्रै सुनुवाइ भएको छ । प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिने, दोहोरो सुनुवाइ नगर्ने अनि लामो समय मुद्दा थाती राख्ने प्रवृत्ति  यसमा पनि देखिएको छ ।

प्रभुशम्सेर जबराले २४ मंसिर २०७६ मा ठमेलमा मुद्दा परेको एक विवादित जग्गा किनेका थिए । मालपोत कार्यालय डिल्लीबजारको लिखत अनुसार, ३ करोड ११ लाख ६० हजार रुपैयाँमा जग्गा अनि ८८ लाख ३९ हजार रुपैयाँमा घरको मूल्यांकन भएर एकमुष्ट चार करोड रुपैयाँमा जग्गा किनबेच भएको थियो । घर किनेको केही दिनमै जबराले प्राइम कमर्सियल बैंकबाट ३ करोड ७५ लाख रुपैयाँ ऋण लिए ।

प्रकाशित मिति: : 2021-10-26 09:22:00

प्रतिकृया दिनुहोस्