कलाशास्त्र पढ्नेहरुको मुख्य ठाउँ काठमाडौँको भोटाहिटीस्थित नेपाल ललितकला क्याम्पस। त्यही क्याम्पसमा पोखराबाट आएका इशान परियार भर्ना भए, ०६३ सालमा।
इशान बाल्यकालदेखि नै चित्रकलाप्रति बडो रुचि राख्थे। ठूलो भएपछि सबैले चिन्ने ‘आर्टिस्ट’ (कलाकार) बन्छु भन्ने उनको सानैदेखिको सपना थियो।
कलाकार बन्ने हुटहुटीले उनलाई ललितकला क्याम्पससम्म डोर्याएको थियो। एसएलसीपछि पोखरामै क्याम्पस भर्ना भएका उनी स्थानीय साथीहरू र कला गुरू बुद्दि गुरूङको सल्लाहमा भोटाहिटी पुगेका थिए।
०६५ सालको कुरा हो, ललितकला क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)ले चित्रकला प्रतियोगिता आयोजना गर्यो। त्यसमा इशान प्रथम भए। सविता डङ्गोल दोस्रो भइन्।
राष्ट्रिय सभागृहमा भएको पुरस्कार वितरण कार्यक्रमदेखि इशानले सवितालाई ‘नोटिश’ गरेको बताउँछन्।
ललितकला पढ्दैगरेका इशानको सोही क्याम्पसकी सहपाठी काठमाडौँ, टेकुकी सविता डङ्गोलमाथि नजर पर्यो। सविता पढाइमा अब्बल थिइन्। त्रिचन्द्र क्याम्पसमा पढ्दैगरेको विज्ञान विषय छाडेर ललितकला पुगेकी थिइन्।
‘त्यो प्रतियोगितामा म पहिलो हुन्छु भन्नेमा अलि ढुक्कै थिएँ। तेस्रो मेरो साथी भएको छ भन्ने थाहा पाएँ। अनि दोस्रो को हो भन्ने मभित्र खुल्दुली थियो। त्यही बेला उद्घोषकले सविता डङ्गोलको नाम घोषणा गर्नुभयो,’ उनले रमाइलो मान्दै विगत सम्झे।
इशानले त्यसपछि सवितालाई पछ्याउन थाले। सविता पनि इशानसँग नजिक भइन्। एउटै कक्षामा पढ्ने भएकोले पनि इशान र सविताको निकटता बढ्नु अनौठो भएन।
दुवैको रुचि उस्तै थियो। लक्ष्य पनि एकै थियो– जसरी पनि राम्रो आर्टिस्ट बन्ने। आई.एफ.ए दोस्रो वर्षमा पढ्दासम्म उनीहरु कक्षामा प्रायशः सँगै हुन्थे। काठमाडौँका चित्रकला प्रदर्शनीमा उनीहरु सँगसँगै पुग्थे।
त्यसै ताकाको एकदिनको कुरा हो, कलेजले उनीहरुलाई ‘कार्यशाला’ सहितको वनभोजका लागि नगरकोट लग्यो। फर्किदा उनीहरु दुवै जना बसको छतमा बसेर फर्किएका थिए। त्यही यात्राका बेला आफूहरुको मनमा प्रेमका आभाष भएको उनीहरु बताउँछन्।
‘जाँदा म बसभित्र बसेकी थिएँ, उहाँ (इशान) साथमा नहुँदा एक्लो महसुस भएको थियो किनकि कलेजमा सबैभन्दा नजिक उहाँ नै हुनुहुन्थ्यो,’ सविताले भनिन्, ‘फर्किदा म पनि उहाँसँगै बस्छु भनेर छतमा गएकी थिएँ। त्यतिबेला मनमा प्रेम को ‘फिलिङ्स’ आएको थियो।’ त्यसको केही दिनपछि इशानले सवितालाई प्रेम–प्रस्ताव राखेका थिए।
सबिताले सम्झिइन्, ‘उहाँले त्यस दिन मलाई रङ्ग गर्न भनेर एउटा क्यान्भास दिनुभएको थियो। क्यान्भासमा रङ्ग भर्दै जाँदा ‘आई लभ यू’ भन्ने शब्द देखिँदै गयो। म जति धेरै रङ्ग गर्दै जान्थेँ, त्यो शब्द झन् स्पष्ट बन्दै गएको देख्दा म अचिम्मित भएँ,’ उक्त घटना सम्झिँदा सविता अहिले पनि दङ्ग पर्छिन्। इशानको ‘प्रोपोज’ गर्ने शैलीले नै आफ्नो मन जितेको बताउँछिन्।
त्यो एउटा सांकेतिक प्रस्ताव मात्र थियो। त्यसलाई औपचारिकता दिन चाहन्थे इशान। त्यसैले एक दिन फोन गरेर भने छन् ‘म तिमीलाई मन पराउँछु।’
प्रेममा एकअर्कालाई समर्पण गर्नुपर्ने त्यसैले सविताले हतार गरिनन्। भेटेर सल्लाह गरौँला मात्रै भनेर फोन काटिन्। त्यसपछि उनीहरुको भेट जमलस्थित एक क्याफेमा भयो।
जीवनको ऐतिहासिक दिन बन्यो– ०६४ जेठ १७ गतेको दिन। उक्त दिन सम्झिदै सविताले भनिन्, ‘मैले उहाँलाई भनेकी थिएँ– टाइम पास गर्ने खालको प्रेम हो भने सम्बन्ध नै अगाडि बढाउदिनँ भनेर। उहाँले जीवन नै सँगै कटाउने भनेपछि मैले सहमति जनाएँँ।’
इशान र सविताको प्रेम २०७२ माघ २१ गते विवाहमा परिणत भयो। त्यस बेला नेपाली समाजमा अन्तरजातीय विवाह त्यति सहज थिएन तर उनीहरुले पारिवारिक सल्लाहमै बिहे भयो।
सँगै जीवन कटाउने संकल्पसँगै ‘आर्ट’ पेशालाई एकसाथ निरन्तरता दिने निर्णय गरेको करिब छ वर्ष पुग्यो। यो अवधिमा उनीहरुले सँगै मिलेर सयाैँ आर्ट बनाए। हजारौँको मन जितेका छन्।
कतिपयको चाहना हुन्छ– पति–पत्नीको एउटै पेशा नहोस्। यो दम्पतीलाई भने त्यस्तो कहिल्यै लागेन। सविताले भनिन्, ‘अँ, बिहेप्रति त्यस्तो सोचेको थिइनँ। उहाँले प्रपोज गरे पनि नगरे पनि हामी दुवै जनाको लक्ष्य एउटै थियो। दुवैको एउटै लक्ष्य पूरा गर्नको लागि साथ सहयोग भएपछि त झनै सहज भयो। विवाह प्रेम भन्ने कुरा त एउटा प्रक्रिया न हो।’
‘कतिपय युवतीको चाहना घर भएको, धन भएको, ‘ह्याण्डसम’ केटा हुनुपर्छ भन्ने पनि होला। त्योभन्दा पनि आफूलाई कति बुझ्छ, आफ्नो लक्ष्यमा कति सहमत र साथ दिन्छ भन्ने कुरालाई मैले महत्व दिन्थे। जब साथै दिँदैन भने त धनको अर्थ त भएन नि’, उनले भनिन्।
सविताको कुरामा सहमति जनाउँदै इशानले थपे, ‘दुवै जना एउटै पेशामा भएका कारण यतिको सफल भइयो भन्ने लाग्छ। समस्या र समाधान दुवै थाहा हुन्छ।’
सविता र इशानको इज आर्ट स्टुडियाे छ। उनीहरु त्यहीँ कलाकर्म गरेरसँगै दिन बिताउँछन्। इशानले अहिलेसम्म छ सयभन्दा बढी ‘आर्ट’ बनाएका छन भने सविताले बनाएका कलाकृतिको संख्या पाँच सय नाघिसकेको छ। उनीहरुले आफ्ना सृजना धेरै पटक सँगै प्रदर्शन गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कला महाेत्वमा सहभागी भई पुरस्कृत र सम्मानित हुँदै आएका छन्।
सविता र इशानले सँगै काम गर्छन् तर पनि उनीहरुको सृजनामा पाइने विशेषता भने फरक–फरक छन्।
आफ्ना कलामा आफैँले महसुस गरेको विषयलाई सृजनामा उतार्ने गरेको इशानले बताए। इशानलाई धेरैले डुङ्गाको आर्ट गर्ने कलाकार भनेर चिन्ने गर्छन्। उनको स्नातकोत्तर तहको ‘प्रोजेक्ट वर्ककाे थिम’ नै डुङ्गा थियो।
पोखराबाट आएको हुनाले त्यहाँको छाप, वाल्यकालमा फेवातालवरिपरि डुल्दा र खेल्दाको छाप उनको कलामा परेको छ। इशानले भावुक हुँदै भने, ‘डुङ्गाबारे बुझ्दै जाँदा त्यसलाई ‘मेटाफर’ (प्रतीक) को रुपमा प्रयोग गर्न थालेँ। डुङ्गाले दुई किनार जोड्छ। अनि हाम्रो जीवन पनि एउटा पानीमा तैरिरहेको डुङ्गाजस्तै त हो नि !’
सविताको आर्टमा भने कपाल र काइँयोलाई बढी प्रयोग गरेको पाइन्छ। उनले स्नातकोत्तर गर्दा यसैलाई ‘थिम’ (विषयवस्तु) बनाएकी थिइन्। ‘कपाल र मष्तिस्कको सम्बन्ध हुन्छ। हाम्रो दिमागमा जे–जे कुराहरु हुन्छन्, त्यसलाई मैले कपाल र काइँयोबाट व्यक्त गर्न खोजेकी हुँ,’ सविताले भनिन्, ‘पहिला कपाल मात्रै प्रयोग गर्थें, पछि कपालका समस्याको समाधानको रुपमा काइँयोलाई ल्याएँ।’
कलामा दुवैका आ–आफ्नै विशेषता छन् तर उनीहरुले मिलेर पनि कतिपय ‘आर्ट’ तयार गरेका छन्। आफूहरुले प्रयोग गर्दै आएका यी कुराबाट दर्शकले आफ्ना कला छुट्याउन र चिन्नसक्ने छाप बसेको उनीहरु दुवैको विश्वास छ।
– आर्काइभ