बजारवादले उत्सव र उल्लासलाई संवेदनाविनाको बजारको उत्सवमा परिणत गरिदिएको छ
बजार वस्तु बेच्ने थलो हो र बजारवाद एउटा प्रवृत्ति। यसले हरेक विचार, वस्तु, र व्यवस्थालाई खरिद–बिक्रीको साधनमा र मुक्त अर्थव्यवस्था र बजारलाई गति दिने नाममा सत्तालाई आफ्नो एजेन्टका रूपमा प्रयोग गरेर मानिसलाई नाफाको उपकरणका रूपमा हेर्छ। यसले प्रफुल्लता र आनन्दको माध्यम र अर्थ दुवैलाई मानवीय हार्दिकताभन्दा पनि आर्थिक मापकहरूको जिम्मा लगाइदिएको छ।
सत्ता र पुरोहित वर्गको सहयोगले बजारबाट विकसित बजारवाद एउटा यस्तो विचारहीन व्यवस्था हो, जसले आफ्नो विस्तारसँगै मानवीय जीवनलाई आफ्नो पकडमा लिएर शोषण र छलको आर्थिक, वैचारिक र सांस्कृतिक आख्यान रच्दै जान्छ। बजारवादको सबैभन्दा ठूलो शत्रु विचार हो। त्यसैले यसले सबैभन्दा पहिलो निसाना यसैलाई बनाउँछ। यसका निम्ति उसले मानिसको मस्तिष्कमाथि कब्जा जमाउन रेडियो, टिभी, सामाजिक सञ्जाल तथा आधुनिक प्राविधिक विकास तथा आर्थिक र सामाजिक वृत्तिविकासको खोजीमा रहेको नागरिक समाजलाई चतुर्याइँपूर्वक प्रयोग गर्छ।
अखबारहरूमा दसैँको विज्ञापन सम्झिनुस् । देवी दुर्गाको आकृति, एउटी लोभलाग्दी गोरी युवती, जसका कानमा जमरा र निधारमा रातो टीका, चंगा, पिङ। यतिसम्म दसैँको पारम्परिक चित्र त परिचित छ। तर, विज्ञापनमा दसैँ यतिमै रोकिन्न। कुनै बहुराष्ट्रिय ब्रान्डेड मदिरा वा कोकाकोला वा पेप्सीजस्तै पेयपदार्थ र विविध राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनीहरूका अनलाइन बजारहरूले घोषणा गरेको बम्पर छुटले सिर्जेको खरिद अफरका आकर्षण पनि दसैँको परिभाषामा सामेल हुन्छन्।