भारतको काश्मीर उपत्यकास्थित भिन्नभिन्नै क्षेत्रमा भइरहेको हिंसाले नयाँ चरण पार गरेको छ। यसले तीन दशकअघिको पुरानो सम्झनालाई ताजा बनाइदिएको छ।
स्मरण गरौँ– पाकिस्तानको योजनाबद्ध रणनीति अनुरूप यही उपत्यकाबाट हजारौँ पण्डितहरू आ–आफ्नो ठाउँ छाडेर भाग्न बाध्य भएका थिए। लगभग हर–मानिसलाई कश्मीरको त्यो कहालिलाग्दो दृश्य प्रष्टै छ।
यसै सन्दर्भमा भारतीय विचारक तवलीन सिंहले सन् १९९५ ताका कश्मीरसँग सम्बन्धित पुस्तकसमेत छापिसकेका छन्। उनी पुस्तककै तयारीका लागि सन् १९९० को जनवरीमा श्रीनगरमा पुगे।
जब उपत्यकाभर चुनी–चुनी पण्डितहरू कुटिने र मारिने क्रम बढ्दो थियो। त्यसबखत मस्जिदका अनेक सन्देश पलपलमा हिन्दू समर्थकसामु आउँथे र भनिएको हुन्थ्यो– उपत्यकामा सिर्फ मुसलमान मात्रै बस्न र बाँच्न पाउनेछन्।
१९ जनवरी १९९० राति उपत्यकामा सन्नाटा थियो। त्यहाँ त्राश बाहेक थिएन। त्यो दिन काश्मीरी पण्डितहरूका लागि कालो दिन हो। उपत्यकाबाट लगभग तीन लाख पण्डितहरू भाग्न बाध्य भएका थिए। उनीहरूका लागि ‘कश्मीर उपत्यका’ काल बनिरहेको थियो।
श्रीनगरस्थित मस्जिदमा जम्मा भएका मुस्लिम युवाहरू हिंसात्मक देखिन्थे। काट्ने, मार्ने, कुट्ने र खेद्ने उनीहरू याेजना बुन्थे। हिन्दूमात्रै होइन शेख पनि उनीहरूबाट प्रताडित थिए।
त्यो दशक दक्षिण एसियालीहरूका लागि सम्झना लायक छैन। यसपटक तीन दशकअघिको भुल्नैपर्ने तर भुल्न नसक्ने यादहरूले फेरि तनाब दिइरहेको छ। अज्ञात जिहादीहरूले एघार जना निर्दोष नागरिकहरू यसै महिना हत्या गरे।
अतिवादीहरूको शिकार बनेका उनीहरू हिन्दू र शेख समर्थक हुन्, कट्टरवादी होइनन्। तीमध्ये एक पण्डित श्रीनगरमा औषधि पसल चलाउँथे। उनी न मुस्मिलविरोधी थिए, न त हिन्दूवादी।
काश्मीर उपत्यकामा दिनहुँ पण्डितमाथि क्रूर आतङ्कवादी आक्रमण भएपछि हजारौँ पण्डितहरू थातथलो छाडेर भाग्न बाध्य भएका छन्। यस्तो आतङ्कले यसपल्ट पनि उपत्यका अशान्त छ।
काश्मीर क्षेत्र आतङ्कवादी हमलाका लागि नौलो ठाउँ होइन। यहाँ दिनदिनै सुरक्षाकर्मी र आम–मानिस मारिरहेका छन् तर यो महिनाको हिंसात्मक रबैयाले तीन दशकअघि पुर्याएको छ।
काश्मीर प्रहरीका अनुसार, जिहादीहरूले अमानवीय ढंगले हत्या गरेका छन्। यस्ता कुरा धेरैलाई पत्याउन गाह्रो छ किनकि अहिलेसम्म एकजना हत्यारो पनि देखिएकाे छैन।
गत हप्ता भारत–पाकिस्तान सीमामा पाकिस्तानी सेनासँग लड्दा भारतीय नौ सैनिक मारिए। अक्सर जब सीमामा यस्ता भिडन्तहरू हुन्छन्, तब पाकिस्तानले जिहादी आतंकवादीहरू प्रयोग गर्ने गरेको भारतीयहरूको आरोप छ।
अफगानिस्तानमा फेरी तालिबान सरकार गठन भएको छ। जो भारतसँग कहिल्यै मित्रता बनाउन सक्दैन। यो सन्दर्भमा भारतीय अति हिन्दूवादी सरकारको पनि उत्तिकै दोष छ।
धर्मप्रति स्वतन्त्र मत राख्ने मानिस भन्छन्– अफगानी तालिबान, पाकिस्तानी जिहादी र भारतीय हिन्दू अतिवादीहरूबीच खासै भिन्नता देखिँदैन। उनीहरू सबै धर्म प्रयोग गरी शासन–सत्ता हातमा लिन चाहन्छन्।
काश्मीरीलाई नयाँदिल्लीको नजरले पाकिस्तानीजस्तै देख्छ। यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनका समर्थकहरूको ठूलो दृष्टिदोष छ। उनीहरू भारतीय हुन्, भारतको विकास र शान्तिप्रति चिन्तित छन्। काश्मीरीहरू अधिकार र स्वतन्त्रता चाहन्छन्, आतंकवादी हमला होइन।