प्रबिता श्रेष्ठ
चलचित्रकी प्रमुख पात्र रायलीको जन्म हुन्छ। पहिलोपटक आँखा उघारेकी उनले बाहिर आफ्ना बाबु-आमा देख्छिन्। मातापिताको पहिचान भने उनको मस्तिष्कभित्रका जोय (खुशी), स्याडनेस (नैराश्य), एंगर (रिस), डिस्गस्ट (घृणा) र फियर (डर) जस्ता भावनाले गरेका छन्। भावनात्मक यी संवेगलाई ‘पर्सोनिफिकेसन’ गरिएको छ। वास्तविक जीवनमा देख्न नसकिने तर महसुस गर्न सकिने यी भावहरूलाई मानवस्वरूप दिएर प्रस्तुत गरिने शैलीलाई ‘पर्सोनिफिकेसन’ भनिन्छ।
मानिसको भित्री भावनात्मक स्थितिले उसको बाहिरी व्यक्तित्वलाई प्रभाव पारिरहेको हुन्छ। दुःख, नैराश्यका बीच पनि मानिस प्रयास गरिरहेको हुन्छ, बाहिरी दुनियाँमा खुशी देखिन। खुशी र दुःखसँगै रिस, घृणा, डरजस्ता मानव संवेदनासँग मानसिक (भित्री) र भौतिक (बाहिरी) दुई भिन्न दुनियाँको सम्बन्धलाई दर्साउँछ, सन् २०१५ मा बनेको एनिमेटेड चलचित्र ‘इन्साइड-आउट’ले। निर्देशक पेटे डक्टेर र उनको टिमले मनोवैज्ञानिसँगको पाँचवर्षे सहकार्य तथा मिहिनेतपछि चलचित्रको स्वरूप दिन सफल भएका थिए।