खैरो क्यानभासमा कोरिएका खस्रा जिन्दगानी

हिमाल खबर

काठमाडाैं

तारानाथ सापकोटा

चिसो रातको अन्तिम प्रहर बाँकी छँदै पल्टिसक्छ, जीवनको एउटा नयाँ पन्ना। कथा परन्तु हिजोकै दोहोरिन्छ। आफैंले पालेको भालेले उठाउनुभन्दा पहिले नै उठिसकेको छ, पञ्चलाल।

इँटाभट्टामा काम गर्ने पञ्चलाल जस्ता सबै बालबालिकाको दैनिकी यसरी नै शुरू हुन्छ। शीतले भिजेको ओसिलो बिहान ४ बज्दा उनको काँचो इँटाको चाङलाई टिनको पाताले छोपेको छाप्रोमा चिया उम्लिसकेको छ। चप्पल र एकसरो पातलो लुगाको भरमा चिसोसँग जोरी खाज्दै श्रम गरिरहेछन्, उनी जस्तै अन्य बालबालिका।

सपनाका अक्षरमा डिको लगाउन सुरसार गर्नुपर्ने हातहरू यति वेला व्यस्त छन्, माटो मुछ्न, इँटा बनाउन वा भारी बोक्न। आँखाको पानी समेत छारोले सोसेर सुकाइदिन्छ। त्यसैले सपना विलासिता मात्रै देखिन्छन्, हुन्छन्। यिनै बालबालिकाको बिर्सिइएका सपनाका पदचापको कथा भन्छ, दीपक तोलाङ्गेद्वारा निर्मित डस्ट (छारो) वृत्तचित्रले।

प्रत्येक वर्ष जाडो मौसमले आँगनमा पाइला राख्दै गर्दा शुरू हुन्छ, इँटा उद्योगमा काम गर्ने हजारौं मजदूरको बसाइँसराइको लर्को। यो लर्कोमा सामेल हुन्छन्, स्कूल पढ्दै गरेका ससाना बालबालिका पनि।

भर्खरै आकार लिन शुरू गरेका अक्षरका बाङ्गाटिङ्गा धर्कालाई अर्को वर्ष सीधा गरुँला भन्दै पढाइ छाडेर बालबालिका आमाबुबासँगै कडा श्रम गर्न बाध्य हुन्छन्। शैक्षिक सत्रको शुरूआतमा चल्ने भर्ना अभियानमा स्कूल पुगे पनि मध्यसम्म पुग्दा आधाजसो बालबालिका गयल भइसक्छन्। उनीहरू हाजिरी लगाइरहेका हुन्छन्, इँटा उद्योगमा ठेकेदारका अघिल्तिर।
 

प्रकाशित मिति: : 2021-10-23 15:28:00

प्रतिकृया दिनुहोस्