“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ । कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले ।
“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ ।”
कान्लामा उम्रेका खरुकीलाई दोबारेर म त्यहीमाथि बसेको थिएँ । सिमीको बीउ ऐले मैले रोपिसकेर खाली भएको झोला ओछ्याई उनी बसेकी थिइन् । थकाइ मार्दै थियौँ ।
लगत्तै तल्तिरको लामो–लामो दुई गह्रामा मूला ठाउँठावैँ उम्रेको थियो, नयाँ खनेको माटोमा दुई–पात तीन–पात भइसकेको थियो ।
“झरीले बगायो अलिक बीउ, तर हाम्रो कुखुरैले राख्दिँदैन,” भनिन् मायाले, “त्यो नौवटाको माउ यतै मात्रै झर्छ ।”
“अँ, त्यो झर्छ...”
“एक छिन हेरेन भने पाखै खोस्रिसक्छ ।”