सुन्दर भविष्यका लागि ‘विद्रोह’मा उत्रिएको युवा पुस्ता

सुधा अत्रि

रंगुन, म्यान्मार
Photos: Myanmar Pressphoto Agency (MPA)

म्यान्मारको युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा होमिएको छ। शान्तिपूर्ण आन्दोलनमाथि ‘जुन्ता सरकार’को क्रूर दमनपछि पछिल्लो पुस्ता प्रजातन्त्र पुनःस्थापनाका लागि युद्ध मैदानमा उत्रिएको एक वर्ष पुग्नै थालेछ।

सैन्य सरकारको विकल्प मानिने ‘राष्ट्रिय एकता सरकार’ले पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)को गठन–लगतै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण जारी छ। तानाशाही सैनिक सत्ताविरूद्ध लड्नका लागि युवाहरूको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएकाे छ।

पीडीएफ स्रोतका अनुसार सीमाक्षेत्र हुँदै लडाकू अड्डासम्म हतियार ओसार–पसार गर्न अनेक समूह सक्रिय छन्। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिका खटिएका छन्।

म्यान्मारमा सैन्य ‘कू’ भएयता प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलगायत अन्य नेताहरू सैनिक हिरासतमै छन्। उनीहरूविरूद्ध जुन्ताले भिन्नभिन्नै झूटा आरोप लगाइएको छ। कतिपय आरोपहरूको अदालती बहस पनि शुरू भइसकेको छ।

राजनीतिक बन्दीहरूको रिहाई र नागरिक शासन फिर्ताको माग गर्दै देशभर दिनहुँ विरोध प्रदर्शन जारी नै छ। तरपनि सैनिक सत्ताले पटक्कै सुन्दैन। ‘जुन्ता’ आफ्नो सत्ता टिकाउन क्रूर र हिंसात्मक कार्यमा जुटेको छ। जसको उद्देश्य आन्दोलनकारीमाथि आतंकित पार्नु छ। 

शहर तथा ग्रामीण भेगबाट हजारौँ नागरिकहरू लडाइँकै लागि सैन्य प्रभावित क्षेत्रमा उत्रेका छन्। उनीहरू एनयूजीको योजना र पीडीएफको निगरानीमा छन्। सशस्त्र समूहमा भर्ना भएपछि लडाकूहरू दुर्गम क्षेत्रमा सञ्चालित सैन्य प्रशिक्षणमा सहभागी हुन्छन्। तालिम प्राप्तपछि उनीहरू सैनिक प्रतिनिधिमाथि आक्रमण गर्न कार्यक्षेत्रतर्फ खट्छन्।

कतिपय प्रान्तमा वर्षौंदेखि संघर्ष गर्दै आएका सशस्त्र जातीय समूह नै सक्रिय छन्। उनीहरूसँग मिलेर पीडीएफ लडाकूहरू राज्यसत्तामाथि हमला गर्न लागिपरेका छन्। म्यान्मारको कचिन र श्यान् प्रान्तमा प्रायः युवाहरू कचिन स्वतन्त्र सेना (केआईए)मै सामेल भएका छन्। केआईए देशको सबैभन्दा ठूलो जातीय सशस्त्र समूह हो।

पीपुल्स् डिफेन्स फोर्सका लडाकूहरूसैन्य प्रशिक्षण सकेर म्यान्मार–थाइल्याण्ड सीमा नजिकै सार्ने तयारीमा। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी
तालिमपछि फुर्सदको मौका छोपी आ–आफ्नो हतियार सफा गर्दै  पीपुल्स् डिफेन्स फोर्सका लडाकूहरू। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी

प्रशिक्षणको क्रमममा लडाकूद्वारा निशानाबाजी थाप्दै। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी

पीपुल्स् डिफेन्स फोर्सका एक लडाकू हातमा हतियार बोकेका आफ्नो साथीको फोटो कैद गर्दै, म्यान्मारस्थित लाइजाक्षेत्रको जङ्गलमा। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी

पीपुल्स् डिफेन्स फोर्सको एक लडाकू समूह म्यान्मार–थाइल्याण्ड सीमाक्षेत्रको जङ्गलमा खट्र्दै। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी

पीपुल्स् डिफेन्स फोर्सका लडाकूहरू जङ्गल प्रशिक्षण सकेपछि आराम गर्दै। फोटोः म्यान्मार प्रेसफोटो एजेन्सी

पीपुल्स् डिफेन्स फोर्सका लडाकूहरू प्रशिक्षणको दौरान अप्ठेरा यात्रा छिचोल्दै। फोटोः म्यान्मार प्रेसफोटो एजेन्स
म्यान्मार सैन्य सरकारले गत ८ मे–देखि पीपल्स् डिफेन्स फोर्सलाई आतंकवादी संगठनको रूपमा घोषणा गरेको छ। विद्रोहमा उत्रिएका बर्मेलीहरू सरकारविरूद्ध लड्न एकजुट भइरहेका छन्।

प्रकाशित मिति: : 2022-01-02 21:34:00

प्रतिकृया दिनुहोस्