दैलेखमा चिया दुनट बेच्ने श्याम र कृष्णा दम्पती (भिडियाेसहित)

दैलेख बजारकाे गणेश चाेकबाट उभाे (माथि) तर्फ लाग्याे भने ऐतिहासिक पृष्ठभूमि बाेकेका भुर्तीका देवल हेर्न जान सकिन्छ। त्योसँगै दैलेखी राजाहरुले राज गरेकाे बेलासपुर दरबार पुग्न सकिन्छ।

जुम्लीहरूकाे व्यापार मधेस सरेपछि उँधाे, उभाे (तल/माथि) गर्ने बाटाे पनि उहीँ हाे। हिजाेका हटारुहरुले (विदेशिनेहरु) सुनाउने गरेकाे भूगाेल जस्ताकाे तस्तै भए पनि खाली रहेकाे ठाउँमा नयाँ संरचना ठडिएका छन्। बाटाे चाैडा छ। सडककाे घाडीतिर सरकारी कार्यालय र अग्ला घर छन्। डिलतिर सरकारी जग्गा छ। त्यसमा पनि टहरा बनेका छन्। जो न्युनतम् कमाई हुनेहरुकाे पेट भर्ने माध्यम बनेका छन्। त्यही अभियानमा लागेका छन्, श्याम रानामगर र उनकी श्रीमती कृष्णा रानामगर।

श्रीमान/श्रीमती बिहानको चार बजे नै उठिसक्छन्। राति ११ बजे सुत्नेबेला मिसेर (दुटन बनाउन तयारी पारिएकाे भिझाएर राखिएकाे पिठाे) राखेकाे पिठाेका दुनट बनाउँछन्। लगत्तै बुट्टेदार, झाेलीला जेरी बनाएर सिसाकाे पारदर्शी भाँडाेमा सजाएर राख्छन्।

तपाईं दैलेख बजार हुँदै भुर्ती वा बेलासपुर जान लाग्नुभयाे, उभाे हिड्नुभयाे भने पार्कइन हाेटलकाे विपरीत दिशामा देख्नुहुनेछ समाेसा बनाउँदै ग्राहक बाेलाइरहेका श्याम रानामगर।

उनी 'बाेल्नेकाे पीठाे बिक्छ' वाला बजारकाे फर्मुला पकडेर कलात्मक शैलीमा ग्राहक बाेलाइरहेका हुन्छन्, 'आउनुहोस्, आउनुहाेस्, तातताताे समाेसा, चिया, तरकारी, दुनट, जेरी खानुहाेस्, सस्ताे सस्तो दामामा।'

पसलभित्र पस्याे भने ग्राहककले अर्डर गरिरहेकाे देख्न सकिन्छ, मिठाे गरी खाइरहेका ग्राहक देख्दा जिब्रो रसाउँछ। मगमग बास्ना नाकमा ठोक्किन्छ भने  मिठा परिकार पाकिरहेकाे आवाज कानमा घन्किन्छ।

गाेजीमा २५ रुपियाँ छ भने चिया र दुनट मगाउन सकिन्छ। सेलाएका चिसा दुनट, भरि गिलास दुध चियामा हाल्याे भने चराचरामा चियापसेर टम्म ढाडिन्छ, मनताताे हुन्छ, गिलासकाे चिया स्वात्त घट्छ, मुख चिया र भिजेकाे दुनटले भरिन्छ। जिब्राेले नयाँ स्वाद लिन्छ। मुख मिठा भइरहन्छ।

नारायण नगरपालिका- ४ देवलकाँडाका श्याम १२ वर्षकाे हुँदा साथीहरुसँग मिलेर इन्डियाको बम्बै पुगे। त्यहाँ पुगेपछि उनले पहिलो काम पाए, हाेटलमा भाँडा माज्ने। विस्तारै उनी बढुवा भएर वेटर भए। थाेरै–थाेरै गरी कमाएर राखेकाे पैसाले हाेटल खाेले। बम्बैमा नेपाली कामदार जति पनि। उनीहरुमा थाेरै मात्र ग्राहक बन्दिए व्यापार चलिहाल्ने। त्याे देखेर नै उनले हाेटल चलाए। खान लाउन पुग्ने कमाइ भइरहेकाे थियाे। उनले आठ वर्ष त्यसरी नै इन्डियामा बिताए।

२०६८ सालमा घर आए। कृष्णासँग माया बस्याे। बिहे गरे। घरमा बाह्रैमास पुग्ने अन्न हुन्थेन। बाह्रैमास काम गर्न जग्गाजमिन पनि थिएन। त्यसपछि फेरि बम्बै छिरे। दुई वर्ष उतै बसे। पुरानै काम थाले।

तर, पराई देशमा दिल फराकिलाे भएन। मन फुलेन। गाथ अडिएन। आफ्नै ठाउँ र आफन्तकाे बाडुल्की लाग्याे। फर्केर देवलकाँडा आए। इन्डियाबाट मुठाे पारेर ल्याएका रुपैयाँले नगरपालिकालाई किराय (भाडा) दिने सर्तमा टहरा बनाए। सस्ताे मूल्य निर्धारण गरेर मिठा परिकार बनाउन थाले। त्यसयता हरेक दिन बिहान श्याम रानामगरकाे स्वर दैलेख बजारले सुनिरहेकाे छ, ग्राहकले उनले बनाउने परिकारकाे स्वाद लिइरहेका छन्।

अहिले उनका दुई जनालाई भ्याइनभ्याई छ। कहिलेकाहीँ त ग्राकह बस्ने ठाउँ समेत पाउँदैनन्। सस्ताेमा, स्वादिलो नास्ता पाइने हुनाले बिहानैदेखि राति अबेरसम्म भीड हुन्छ।

प्रतिगाेटा, पाँचदेखि १० रुपैयाँ पर्ने जेरी, समाेसा, दुनट दिनभरी बेच्दा साँझसम्म बाकसमा दशदेखि २० हजार रुपैयाँ जम्मा भइसकेका हुन्छन्।

'कमाइ राम्राे छ। बस्न, खान, भाडा तिर्न, बच्चालाई पढाउने पैसा यतैबाट आउँछ,'श्यामकी श्रीमती कृष्णाले भनिन्, 'बचत पनि राम्रै छ। २०७४ सालमा १५ लाख हालेर एक घडेरी किनेका छाैं। अहिले त्यसकाे मुल्य बढेर ३० लाख बढी भइसकेको छ।'

पछिल्लो समय श्यामलाई उनका भाइले सघाइरहेका छन् र पनि फुर्सद हुँदैन। खाली बस्नै पाउँदैनन्।

कृष्णाले भनिन्,'कतैबाट कार्यक्रमका लागि अर्डर आएकाे दिन भात राम्रोसँग खान पाइदैन। बिरामी भएकाे दिन पनि काम गर्नुपर्छ। मेला, पर्वमा थामी नसक्ने ग्राहक हुन्छन्।'

घरबाट बजार आउँदा रित्तै आएक उनीहरु गाउँ जाँदा खाली हात जाँदैनन्। उनीहरुकाे पास खाली कहिले हुँदैन। कुनै दिन अभाव भयाे भन्नुपरेकाे छैन। त्यसैले दुबै जना खुसी छन्।

दुबै जनाकाे एकै स्वर छ, 'व्यापार राम्राे छ। कमाई साेचेजस्ताे छ। दुबै जनाले श्रम गर्छाैं। दुबै जनाकाे आम्दानी बराबर छ। यसैले हामीलाई औधी खुसी र सन्तुष्टि दिएकाे छ।'

प्रकाशित मिति: : 2021-10-11 17:00:00

प्रतिकृया दिनुहोस्