प्राध्यापक डा. मदनकुमार रिमाल, ६१। उनी त्रिभुवन विश्वविद्यालयको ‘नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभाग’ का प्रमुख हुन्। उनी दशैँ करिब छ हजार वर्षअघिदेखि मनाइँदै आएको बताउँछन्।
संस्कृतिमा सबैभन्दा ठूलो प्रभाव पर्यावरणको हुने बताउने संस्कृतिविद् रिमाल त्यसैको फलस्वरुप दक्षिण भारतमा नरिवलको पानी चढाउने चलन चल्दा नेपालमा बोकाको रगत चढाउने संस्कृति विकास भएको उनले बताए।
संस्कृतिले समाजलाई जोड्ने बताउने प्रा. रिमालले भने, ‘हाम्रो संयुक्त परिवार, ग्रामीण सभ्यता र कृषि पेशा हो। त्यसैले हरेक सांस्कृतिक–धार्मिक क्रियाकलाप, धर्म, देवीदेवता यसैसँग सम्बन्धित छन्।’
दशैँमा दुर्गाको पूजा गरिनुलाई सिन्धुघाँटीको सभ्यताभन्दा अघिदेखि नै स्त्रीलाई शक्तिको रुपमा मानिएको उनले बताए। उनले भने, ‘भगवान कृष्णले अर्जुनलाई महाभारत युद्ध जित्न ‘दुर्गाको आराधना गर’ भन्नुभो। शक्तिलाई स्त्री रूप मानियो। ‘इन्डस’ भन्दा अगाडि ढुङ्गे युगदेखि नै मान्छेले शक्तिलाई स्त्री रूप मानेर पूजा गर्दै आएको छ। अहिलेसम्म पनि जारी छ।’
राजाहरुले युद्धको तयारी गर्ने पर्वका रूपमा दशैँ मानिँदा बडा दशैँले प्राथमिकता पाउँदै गएको बताउने उनले भने, ‘दशैँको सन्देश हो– ठूलाबडा, देवी–देवताका आशीर्वाद लेऊ। तिमीले जुन देवतालाई मान्छौ, त्यो देवताको आशीर्वाद लेऊ। खोलानाला पूजा गरे पनि हुन्छ। सर्प पूजा गरे पनि हुन्छ। रुख वा ढुङ्गालाई पूजा गरे पनि हुन्छ।’ दशैँको ऐतिहाँसिक, सामाजिक–सांस्कृतिक पक्षबारे प्राध्यापक डा. मदनकुमार रिमालसँग माधव ढुङ्गेलले गरेको संवाद :
मान्छे व्यस्त हुँदै गएका छन् तर नेपालीको दशैँ झन् लामो हुँदै गएको छ। दशैँको सांस्कृतिक महत्व के छ ?
दशैँ यस्तो पर्व भयो, जो धेरै दिनसम्म मनाइन्छ। दशैँलाई मुख्य चाडपर्वका रूपमा मानेको हुनाले जे पनि अब दशैँपछि गरौँला वा दशैँअघि नै यो काम सकौँ भन्ने धारणा भयो। सरकारले पनि लामो बिदा दिने पर्व हुनाले यस्तो भएको हो।
दशैँ सांस्कृतिक महत्वमै आधारित पर्व हो। पूर्वीय संस्कृतिमा मान्छेले तीनहजार चार हजार पाँच हजार वर्षदेखि नै महत्व दिए– जन्म, मृत्यु र आत्मा भन्ने कुरालाई। यसैमा मान्छेले आध्यात्म विकसित गरे।
अध्यात्ममा गयौँ भने हामीमा दुई कुरा हुन्छ– एउटा जुन हामी भौतिक रूपले देखिरहेका छौँ– हाम्रो शरीर, हाम्रा क्रियाकलापहरू। अर्को, आध्यात्मिक रूपले हामीले क्रियाकलाप गरिरहेका हुन्छौँ। यसको सम्बन्ध मानसिक कुरामा हुन्छ।
हामी मानसिक रूपले सन्तुष्ट हुन्छौँ कि हुँदैनौँ ? कतिसम्म भौतिक संसारमा रमाइरहेका छौँ भन्ने पक्षलाई हेर्नुपर्छ। त्यस कारण यो क्षेत्रमा विभिन्न दर्शनहरू कम्तिमा पनि छ हजार वर्षदेखि विकास भएको देखिन्छ।
दशैँ त ‘अप्रामाणिक इतिहास’ अर्थात् हिन्दू धर्मशास्त्रमा आधारित देखिन्छ। दशैँ शुम्भ–निशुम्भ बध वा रामले रावण वध गरेको जस्तो ‘मिथ’ मा आधारित मात्रै भयो। प्रामाणिक तथ्य केही छ ?
मान्यता भन्छौँ क्या हामी ! यी घटना भएका हुन्–होइनन् ? सत्य, त्रेता, द्वापर, कलियुग भन्ने विभिन्न किसिमका विश्वासहरू छन्। पछि गएर त्यही दर्शनलाई बुझाउन मान्छेले मानसिक सन्तुष्टि कसरी प्राप्त गर्नसक्छ ? जसलाई हामी मुक्ति भन्छौँ, ‘बुद्धिजम’ मा निर्वाण भन्छौँ। त्यसका विभिन्न पक्षलाई व्याख्या गर्दै जान्छन्। मानसिक रूपले भौतिक संसारसँग हाम्रो सम्बन्ध कस्तो छ ? आध्यात्मिक रूपले हाम्रो संसार कस्तो छ ? भन्ने पहिलेदेखि नै थियो।
दशैँमात्र होइन, हाम्रा चाडपर्व संस्कारहरू यस्तै दर्शनहरूबाट निर्देशित छन्– साङ्केतिक रूपमा। हामीले ती दर्शनलाई अङ्गिकार ग-यौँ।
दर्शन सर्वसाधारणले बुझ्दैनन्। दर्शन बुझ्न त अध्ययन, साधना गर्नुपर्छ। सबैले गर्दैनन्। सबैलाई बुझाउनका लागि विभिन्न किसिमका रचनाहरू गरिए। पुराण, उपनिषद्हरू रचना गरिए। बौद्ध धर्ममा पनि जातकहरूका कुरा आए। विभिन्न कथा बनाएर जनमानसले बुझ्ने किसिमले दार्शनिक पक्षलाई प्रवेश गराएको देखिन्छ।
दार्शनिक पक्षलाई अलि व्याख्या गरिदिनुस् न ?
दार्शनिक पक्ष भनेपछि– हरेक जीवमा काम, क्रोध, लोभ, मोह, माया, अनुराग आदि हुन्छन्, यी सबैलाई विजय हासिल गर्न गरिने प्रयासहरू हुन्। मानिसलाई कहिले क्रोधले, कहिले काम–इच्छाले गलत मार्गमा लानसक्छ। यस्तालाई दमन गरेर आफ्नो वशमा राख्न सकौँ। अध्यात्मसँगसँगै जुन भौतिक जीवन छ, त्यसलाई नियन्त्रणमा राखेर काम कर्तव्य गर्न सकौँ भनेर आराधना गर्ने दर्शनको एउटा पक्ष छ।
आशुरी शक्तिमाथि विजय भनेकोे– जसले मानव जीवनलाई बाधा पु-याउँछ, त्यस्ता तत्वहरूलाई दमन गर्न सकौँ। आशुरी शक्ति हामीकहाँ आउनु स्वाभाविक हो। आउँछ। त्यसले हाम्रो दैनिक र सामाजिक जीवनमा असर नपरोस् भनेर साङ्केतिक रूपमा त्यसमाथि विजय हासिल गर्न सकौँ भनेर विभिन्न सांस्कृतिक क्रियाकलापहरू गर्छौँ।
हाम्रो क्षेत्रमा ‘दशैँ’ मनाउन थालेको कति शताब्दी भयो होला ? प्राचीन कालदेखि नै हो ?
गङ्गाको सभ्यतामा ‘दशैँ’ धेरैअघिदेखि नै देखिन्छ, हाम्रो संस्कृतिमा। प्रारम्भमा कृषि कर्म सकिएपछि हर्षोल्लाषका रूपमा वर्षायाम सकिएपछि खुशीयाली मनाइन्थ्यो। बालिनाली राम्रो होस् भनेर आराधना गरिन्थ्यो। अहिलेजस्तो टीभी, रेडियो, फिल्मजस्ता मनोरञ्जनका आधुनिक उपकरणहरू त थिएनन्। मनोरञ्जन गर्ने यस्तै सांस्कृतिक क्रियाकलापबाट मात्रै थिए। एक ठाउँमा बसेर खुशीयाली साटासाट गर्थे। बालीनाली सप्रियोस् भनेर विभिन्न देवी–देवतालाई आराधना गर्ने पक्षबाट दशैँ सुरु गरिएको हो।
यो तीन हजार वर्षभन्दा पनि अझै अघिदेखिको संस्कृति हो। ‘इन्डस भ्याली’ तीन हजार वर्षभन्दा अघि ‘कोल्याप्स’ भएको हो। ईशापूर्व ३००० मा ‘इन्डस भ्याली’ स्थापना भयो। ईशापूर्व १७०० मा यो ‘कोल्याप्स’ भयो।
त्यसपछि गङ्गानदीलाई समातेर मानव सभ्यताको विकास भयो। यो सांस्कृतिक पक्षहरू पछि कृष्णा नदी भनेर दक्षिण भारततिर पनि गयो। गङ्गा, यमुना, सरस्वतीलाई त्यत्तिकै महत्व दिइयो। बङ्गालसम्म पनि यो संस्कृति विकास भएको देखिन्छ।
‘कविला’ कालमा एउटा राजाले अर्को राज्यमाथि आक्रमणको पूर्वतयारीका रूपमा पनि ‘दशैँ’ मनाउने गरिएको थियो ?
राजा महाराजाहरूले विजय हासिल गर्ने पर्वका रूपमा पनि लिए, प्राचीन कालदेखि नै। स–साना रजौटा राज्यहरू थिए। राजाले अर्को राज्यमाथि त्यसरी आक्रमण गर्न जाँदा त खुकुरी, तरबार, भालाजस्ता हतियारलाई धार लगाउने, पूजा गर्ने पर्वका रूपमा मनाइए। कविला युगमा त एउटाले अर्कोमा हमला गर्दा पनि खुशी मनाउने काम भए।
यस क्षेत्रमा बाह्य आक्रमण धेरै भयो। हुड, कुसान, मुस्लिम, मगधहरू आए। अलेक्जेन्डरजस्ता मान्छेहरू आए। उनीहरूसँग त युद्ध गर्नुबाहेक त अरु उपाय थिएन। त्यस बेला शक्तिको उपाशना गर्ने भन्ने अवधारणा आयो।
इशापूर्व ६०० अर्थात् बुद्धको समय, त्योभन्दा धेरैअगाडिदेखि रामायण र महाभारतको समय भनिन्छ। केही प्रमाणहरू पनि छन्। त्यसबेलाको त्यति ठूलो सभ्यताका कुराहरू त रामायण, महाभारतमा सङ्कलित छन्। ती श्रुतिबाट आएका हुन्। धेरै कुराहरूको प्रमाण खोज्न बाँकी नै छ।
भगवान कृष्णले अर्जुनलाई महाभारत युद्ध जित्न ‘दुर्गाको आराधना गर’ भन्नुभो। त्यो शक्तिलाई आराधना गर भनेको हो। शक्तिलाई स्त्री रूप मानियो।
‘इन्डस’ भन्दा अगाडि ढुङ्गे युगदेखि नै मान्छेले शक्तिलाई स्त्री रूप मानेर पूजा गर्दै आएको छ। अहिलेसम्म पनि जारी छ।
‘महिलावादी’ हरूको भन्छन्– जब पुरुष (देवता) ले सकेनन्, अनि नारी (देवी) उठिन्। देवी उठेपछि उनको शक्तिसामु कोही पनि टिक्न सक्दैन। दशैँको सन्देश यस्तै हो कि फरक छ ?
नारीले सक्ने पुरुषले नसक्नेवा पुरुषले नसक्ने नारीले नसक्ने भन्ने जस्ता कुरा त योसँग सम्बन्धित होइन तर पुरुष मात्र शक्ति होइन, नारी पनि शक्तिशाली हुन्छन् भन्ने अवधारणा प्राचीनकालदेखिकै हो।
हिन्दू धर्म–संस्कृतिले यो पहिलेदेखि नै स्वीकारेको छ ?
हिन्दू धर्मभन्दा पनि हिन्दू संस्कृतिले स्वीकारेको छ।
पहिले युद्धको तयारीका रूपमा दशैँ मनाइयो। युद्धमा जाँदा को फर्कन्छ, को फर्कंदैन भन्ने हिसाबले जानुअघि सँगै भोज खाऊँ, आशीर्वाद लिऊँ, रमाइलो गरौँ भन्ने हिसाबले हतियारको पूजा गर्ने पर्वका रूपमा मनाइयो ?
ठूलाबडा, देवी–देवताका आशीर्वाद लेऊ। तिमीले जुन देवतालाई मान्छौ, त्यो देवताको आशीर्वाद लेऊ। त्यसमा पनि हिन्दू धर्म उदार देखियो।
जेलाई देवता मानेर पूजा गरे पनि हुने ?
खोलानाला पूजा गरे पनि हुन्छ। सर्प पूजा गरे पनि हुन्छ। रुख वा ढुङ्गालाई पूजा गरे पनि हुन्छ। आफ्नो आस्था केमा छ, त्योसँग आफूलाई शक्ति देऊ भनेर माग गर्ने संस्कृति हो।
अनि पछि सातौँ–आठौँ शताब्दीमा गएर तन्त्रयान र मन्त्रयानको विकास भएपछि हिन्दुइज्म वा बुद्धिजम भन्नुस्, बज्रयान, शैव धर्म विकास भए। त्यसले गर्दा तान्त्रिक पद्धति पनि यहाँ प्रवेश भयो। समय–समयमा दुर्गाका विभिन्न रूपहरूलाई कल्पना पनि गरियो। आध्यात्मिक पक्षलाई मिलाउनका लागि विभिन्न किसिमले देवीदेवताको आह्वान पनि गर्न थालियो।
अहिले हेर्दा नेपालमै दशैँ एउटा समुदायले साधना, पूजापाठ, ब्रत बसेर एक छाकमात्र चोखो खाएर दुर्गापूजा मनाउने गर्छ– जुन हाम्रो तराई क्षेत्रमा। भारतमा दशहरा भनेर मनाइन्छ। नेपालको पहाडी समुदायमा चाहिँ बेस्सरी मासुका परिकार खाएर मनाउने देखिन्छ। एउटै सभ्यता र धर्मसंस्कृतिभित्रका मान्छेले मान्ने दशैँमा यत्रो अन्तर कसरी हुन गयो ?
संस्कृति कोही एउटाले म चलाइदिऊँ भनेर विकास हुँदैन। लामो पृष्ठभूमि हुन्छ। यसमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्छ– वातावरणले। त्यसलाई पर्यावरण भन्छौँ हामी। त्यो क्षेत्रको पर्यावरण जस्तो छ, त्यही खालको संस्कृति आउँछ।
जस्तो, दक्षिण भारतमा नरिवल धेरै हुन्छ, त्यहाँ देवतालाई नरिवल–पानी चढाउँछन्। हामीकहाँ नरिवल हुन्न, त्यसैले बोका काटेर त्यसको रगत चढाउँछन्। पछि गएर हाम्रोमा पनि संस्कृतिको रूपमा नरिवल प्रवेश हुन्छ। व्यापार व्यवसायका कारण नरिवल पनि संस्कृतिको हिस्सा बन्यो।
मुख्य कुरा त्यो क्षेत्रको ‘इकोलोजी’ हो। नेपालमै पनि हिमाल, पहाड, तराई, पश्चिम, पूर्व, मध्य भनेर विभिन्न किसिमका वातावरणमा छन् मान्छे। यसको सांस्कृतिक पक्ष जस्ताको तस्तै रहन्छ तर त्यसमा ठाउँ–ठाउँमा परिवर्तन भएर आउँछन्।
जहाँ जे छ, त्यो संस्कृति मान्ने चलन छ। उपलब्ध सामग्रीबाट न पूजा गर्छन्। जस्तो, श्राद्धमा चौँरीको रौँ चाहिन्छ भनिन्छ। तराईका मान्छेले चौँरीको रौँ कहाँबाट ल्याउनू ?
अनि उपाय पनि छ। पण्डितजी भन्नुहुन्छ– हातमा रुवा थमाइदिएर यसलाई चौँरीको पुच्छर मान्नुस्।
ऊ (यजमान) मनमनै भन्छ– ‘यो चौँरीको पुच्छर हो।’ चट्ट उसले काम गर्छ। यो पर्यावरणको असर हो।
दशैँ मान्ने परम्परा पनि त उदार नै छ। जसरी माने पनि हुन्छ ?
धेरै नै उदार छ। तपाईंलाई मान्न मन छ भने मान्नुस्। मान्न मन नभए नमान्नुस्। नमान्दा तपाईंको परिवार, समाजले के भन्लान् ? यो उनीहरूको व्यक्तिगत कुरा हो। तर, के हो भने समाजमा म संस्कृति राखिदिन्छु वा हटाइ दिन्छु भनेर हुँदैन। यद्यपि, संस्कृति परिवर्तनशील हो।
संस्कृतिमा परिवर्तन हुन्छ। उपयोगी कुराहरू संस्कृतिमा थपिँदै जान्छन्। अनावश्यक कुराहरू हट्दै जान्छन्।
निरहार व्रत बस्नु र बेस्गरी मांशाहार खाने भन्ने अन्तर पनि पर्यावरणकै कारण हो त ? वीरगञ्ज र काठमाडौंको दशैँमा यति ठूलो अन्तर छ नि संस्कृतिमा ?
व्रत बस्ने भन्ने तपाईंले गरेको अठोट हो– यो पूरा नभई यो गर्दिनँ भनेर। इच्छा जे छ, गर्नुस्। नखाई गरे पनि ठीक छ। खाएर गर्नुभए पनि ठीक छ।
पशुपति दर्शन गर्न जाँदा खाना खाएर गए पनि ठीक छ। बिहानै केही नखाई ‘मोर्निङ वाक’ पनि हुन्छ, दर्शन पनि हुन्छ भनेर आउनुभो पनि पनि तपाईंको कुरा भो। पशुपतिनाथले किन आएर आइस् वा नखाई आइस् त भन्दैनन्।
दशैँ हिन्दू धर्मावलम्बीको मात्रै हो कि अरुको पनि हो त ?
दशैँ हिन्दूको मात्र हुँदै होइन। यहाँ हिन्दूको भनेर धेरैले भन्छन्। यी गङ्गाको क्षेत्रमा विकसित भएको सांस्कृतिक क्रियाकलाप हुन्। जुन ‘इन्डस’ देखि लिएर बङ्गालसम्मका हिमालदेखि दक्षिणभारतसम्मकासबै ‘कल्चर’ हरूमा कुनै न कुनै रूपमा यसलाई समाहित गरेको छ।
पछि गएर इन्डसदेखि पूर्वका जो मौलिक निवासीलाई हिन्दू भनेर भने। सिन्धुघाँटी र सिन्धुघाँटीभन्दा पूर्वतिर फैलिएका जो यहाँका मौलिक बासिन्दा हुन्, ती व्यक्तिका सांस्कृतिक पर्वहरू आ–आफ्नो ढंगले जसरी मनाए पनि हुन्छ। यसै गरी मनाउनुपर्छ भन्ने पनि छैन।
आफूले श्रद्धाभक्तिपूर्वक मानिआएको देवीदेवतालाई पूजा गर्नु भनेको एउटा सांस्कृतिक पक्ष हो। मौसम फेरिँदा आफूलाई शुभ होस् भनेर क्रियाकलाप गर्ने हो।
यसलाई हिन्दू धर्मसँग जोडिदिएको छ। यो विकसित हुँदै आयो। सबैले आ–आफ्नो किसिमले मनाउँदै आए। कसैले होइन हाम्रो भन्छ भने पनि नमनाए भो। कसैले हाम्रो हो भन्छ भने उसले त मनाउन पाउनुप-यो नि !
भनेपछि दशैँ सिन्धुघाँटीको सभ्यताबाट हुर्केर आएका भारतवर्ष (दक्षिण र दक्षिण पूर्वी एसिया) का मान्छेको साझा संस्कृतिका रूपमा मनाइन्छ ?
हाम्रो संस्कृति सिन्धुघाँटीदेखि नै देखिन्छ। जीवित संस्कृति दुईटा छन्– अहिलेसम्म। एउटा चीनको छ– ह्वाङहो नदी सभ्यता। उनीहरूको संस्कृति पनि अहिलेसम्म जोगाएर राखेका छन्। हिमालदेखि दक्षिण भारत, श्रीलंकासम्म नै भनौँ। यी सम्पूर्ण क्षेत्रमा विकसित भएको पूर्वीय संस्कृति अहिलेसम्म जीवित छ। जसको मूल पुरातात्विक हिसाबले ढंगले हामीले खोज्दै जाँदा हामी सिन्धुघाँटी सभ्यतासम्म पुग्छौँ। यो दुई सभ्यता निरन्तर छन्।
‘इजिप्सियन सिभिलाइजेसन’ (नीलघाँटीको सभ्यता) भनेको म्युजियममा थन्कियो। पुरानो सभ्यताका मान्छे पनि अहिले देखिँदैनन्। वाह्य आक्रमण, बसाइँसराइ धेरै भए। उनीहरूले पनि बिस्तारै बिर्सिए। कोही जीवित भए मलाई थाहा भएन।
त्यस्तै, ‘मेसोपोटामियाको सभ्यता’ पनि अहिले निरन्तर छैन। अरब, इरान, इराक भएर मुस्लिम देशका रूपमा विकसित भएको छ।
मानव विकासमा संसारका चार वटा ‘ग्रेट रिभर सिभिलाइजेसन’ भन्छन् क्या ! ‘नाइल रिभर सिभिलाइजेसन’ (नीलघाँटी) भन्छौँ– इजिप्टदेखि। अर्को मेसोपोटामियाको सभ्यता, जो अहिले अरब, इरान इराक छ। यता ‘इण्डस रिभर’ र चीनको ह्वाङ्हो नदी सभ्यता भयो। दुईटा निरन्तर छ, दुईटा थन्किएको छ।
दक्षिण र दक्षिणपूर्व एसियाका रूपमा फैलिएको हाम्रो सभ्यता जुन छ, त्यो चाहिँ निरन्तर छ ?
हो। हाम्रो निरन्तर छ। कतिपय कुराहरू हामीले सिन्ध नदीबाट पनि लिएका छौँ। त्यसै सभ्यताबाट हुर्किएको गङ्गा नदीको सभ्यता हो। त्यहाँबाट पनि लियौँ।
गङ्गा नदीको सभ्यताबाट रामायण, महाभारतजस्ता ग्रन्थ लेखिए। वेद, पुराण, उपनिषद् लेखिए, जसलाई ‘ग्याङ्गोटिक सिभिलाइजेसन’ भनिन्छ। यसै सभ्यताभित्र बुद्धजस्ता दार्शनिकहरू पनि जन्मनु भो। महावीरजस्ता मानिसले दर्शन दिनुभएको छ।
के पनि भनिन्छ भने– दशैँ पहिले वसन्त ऋतुतिर चैतेदशैँमा मनाइन्थ्यो। पछि शरद ऋतुमा सारिएको हो ?
चैते दशैँ र बडा दशैँको उत्तिकै महत्व छ। दुवै के देखिन्छ भन–े एउटा धान रोपाईं गर्ने, अर्को काट्ने सिजन हो। हाम्रो समाज कृषि र पशुपालनमा विकसित भएको हो। दशैँ यी दुवैसँग सम्बन्धित छन्।
पहिला–पहिला चैते दशैँ र बडादशैँ दुवैमा महत्व दिइन्थ्यो। पछि राजनीतिक कुरा पनि मिसिए। राजा–महाराजाहरूको इच्छाले पनि यो दशैँमा महत्व दिने, यसमा नदिने पनि भनिएको हो।
अर्को, असोजमा वर्षा सिद्धियो। दशैँ हाम्रालागि एकदमै महत्वपूर्ण भयो। देवी–देवता जाग्राम अवस्थामा आउने भए। चैत–बैशाख पनि सुख्खा याम भयो। त्यो बेला पनि महत्वपूर्ण भयो।
पहिला मान्छेहरू वर्षामा हिँड्दैनथे। खोलानाला बढ्थे। पुलपुलेसा थिएनन्। सर्पबिच्छीहरू बाहिर निस्कन्थे। बाटो पनि चिप्लो, हिलो हुन्थ्यो। वर्षका तीन–चार महिना घरै बस्थे।
राजाहरूलाई पनि युद्ध गर्न यही समय (असोज–कात्तिक) ठीक भो। उनीहरूले युद्ध गर्नका लागि युवापुस्तालाई लिएर जानलाई ठूलाबडाको, देवी देवताको आशीर्वाद लिने र जाने भयो। त्यसपछि असोजको दशैँ प्राथमिकतामा पर्दै गयो। राजा भएपछि कम्तिमा पनि एउटा राज्य जित्नुपर्ने त्यसका लागि लडाइँ गर्नुपर्ने भन्ने मान्यता थियो।
दशैँलाई अहिलेको राज्यसत्ताले पनि प्राथमिकता दिएकै छ नि, हैन ?
राजनीति छुट्टै कुरा भयो। दशैँमा छुट्टी दिए पनि, नदिए पनि के मान्छेले दशैँ नमान्लान् त ? राज्यले राजनीतिक रूपमा आफूतिर जनता आकर्षित गर्न छुट्टी दिने बेग्लै कुरा हो। जनगणना हेर्नुहुन्छ भने पनि कम्तिमा ८१ प्रतिशतले दशैँ मनाउँछन्।
हाम्रो संस्कृतिको गजब पक्ष छ– जसले मनाए पनि हुन्छ, जसरी मनाए पनि भो। आफूलाई आस्था भएको देवी–देवतालाई सम्झेर आशीर्वाद लिने हो। ठूलाबडाको आशीर्वाद लिने हो। यसलाई आ–आफ्नो सुविधा र प्राप्त सामग्री अनुसार गर्छन्।
अहिले भारतमा बनेर आउने रङ्ग भयो। अनि रङ्ग हालेर रातो टीका लगाउछौँ। पहिला रङ्ग आउँदैनथे। रङ्ग नभए टीकै नलगाउने त भएन, सेतो टीका लगाउँथे। कोहीले रातो, कोहीले सेतो, कसैले पहेँलो लगाउँछन्।
ऐतिहासिक पक्षबाट अब हाम्रो समयमा फर्कौं। हाम्रो पुस्ता र हामीभन्दा पछिको पुस्ताले दशैँलाई कसरी अहिलेभन्दा जीवनउपयोगी बनाउन सक्छ ?
अहिलेको शहरीकरण बढी भयो। हामी ग्रामीण सभ्यताका मान्छे हाैँ। हाम्रो संयुक्त परिवार, ग्रामीण सभ्यता र कृषि पेशा हो। त्यसैले हरेक सांस्कृतिक/धार्मिक क्रियाकलाप, धर्म, देवीदेवता यसैसँग सम्बन्धित छन्।
अहिले संसार परिवर्तन भयो। शहरीकरण भयो। विभिन्न विद्युतीय सामग्रीको विकासले मान्छे ती सामग्रीमा सीमित भए। दशैँजस्ता सांस्कृतिक पर्वले कम्तिमा पनि परिवारको जमघट गराउँछ। भाञ्जाभाञ्जीबीच मामाले के–कसो गर्दैछन् भन्ने ‘शेयर’ हुन्छ।
जस्तो, श्राद्ध गर्छन्। त्यो जमघट हो नि ! पितृलाई सम्झन तिमीहरू पनि आऊ है भनेर बोलाउने हो। त्यो श्राद्ध जसरी गरे पनि हुन्छ। चामलको पिण्ड बनाएर दिए पनि भो, जौको दिए पनि भो। तर, त्यो दिन पारिवारिक जमघट त हुन्छ नि !
कतिपय मान्छेको भेट्घाट यस्तै चाडपर्व, उत्सव, जात्रा र संस्कारहरूमा हुन्छ। त्यो उपयोगी हुन्छ। त्यसैले हामीले सकेसम्म यस्ता सांस्कृतिक पर्वमा भेला हुने काम गर्नैपर्छ किनभने हामी परिवार र समाजमा विश्वास गर्छौँ। हामी सामाजिक प्राणी हौँ।
अहिलेको पुस्तालाई बुझाउन सक्नुप-यो– चाडपर्व पारिवारिक जमघट हो। यसलाई मनाउँछौँ। कुनैमा हामी चोखो खान्छौँ। कुनैमा ‘ननभेज’ खान्छौँ। मासु खाने–नखाने व्यक्तिगत कुरा हो।
हामीले बुझ्नुपर्छ– मासु खाने नखाने, बली दिने नदिने भनेर आ–आफ्नो तर्कद्वारा जति व्याख्या गरे पनि हुन्छ। आफ्नो धारणा बनाउनुस्, त्यसमा केही छैन। तर, सांस्कृतिक चाडपर्वहरूले देशलाई एक ठाउँमा ल्याउने प्रयास चाहिँ गर्छ।
दशैँलाई पनि अद्यावधिक गर्नु जरुरी छ ?
आफैँ हुन्छ के अद्यावधिक ! ‘कल्चर’ कडा हुँदै हुँदैन। ‘कल्चर’ कडा छ भने त्यो ‘कल्चर’ नै होइन। यो त जीवन सजिलोसँग बाच्ने माध्यम हो।
कुनै पनि ‘कल्चर’ नमान्नुस्, अनि के गर्नुहुन्छ तपाईं ? कमाएर पनि के गर्नुहुन्छ ? दशैँमा लुगा किन्नुपर्छ भन्ने भए न कमाएर लुगा किनिन्छ। कुनै पनि संस्कार मान्दिनँ भनेर बस्नुभयो भने तपाईंले गर्ने चाहिँ के त ?
कल्चर बिना बस्ने हो भने जीवन बिताउनै गाह्रो हुन्छ। कल्चर मान्दा तपाईंले आस्था गर्ने जुनसुकै देवता होस्, त्यसलाई पूजा–आराधना गर्न सक्नुहुन्छ।
घटस्थापनामा कुनै देवीको मूर्ति राख्नुहुन्न। ‘घट’ (घडा) स्थापना गरेर त्यसैलाई पूजा गर्नुहुन्छ। नरिवल राखेर त्यसैलाई पूजा गर्नुहुन्छ। जे मन लाग्छ त्यसैलाई पूजा गर्नुस्, दशैँ मनाउनुस्। आफ्नो संस्कृतिलाई मनाउनुस्।
दशैँ व्राम्हण क्षेत्रीको मात्रै पेवा होइन, यो क्षेत्रको संस्कृतिका सबै मान्छेको हो। मौलिक मान्छेहरूको हो। मनाउने जति सबैको हो। मनाउँदिनँ भन्नुहुन्छ भने केही छैन। ‘इट्स ओके’ !