प्रधानन्यायाधीश राणाकाे जेठान बने आपूर्तिमन्त्री, के प्रतिनिधिसभा पुनर्स्थापना गरिदिए बापतको 'उपहार' हो ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भागबण्डाकाे आधारमा न्यायपालिकाकाे काेटा गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन्।

मन्त्री बनेसँगै हमालकाे नाम एकाएक चर्चामा आएकाे छ। आखिर सांसद नै नरहेका उनी मन्त्री बनेपछि हमालबारे जान्ने उत्सुकता पनि सामान्य नै हाे।

हमाल वास्तवमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन्।

उनी लामाे समयदेखि कांग्रेसकाे राजनीतिमा सक्रिय हुँदै आएका व्यक्ति हुन्। उनकाे वास्तविक कर्मथलाे नेपालगञ्ज हाे। ०४० सालमा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आएका थिए।

कांग्रेस नेता सुशील कोइरालासँग मनमुटाव बढेपछि देउवा पक्षमा लागेका उनी कांग्रेस विभाजनपछि प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति बनेका थिए। उनी ०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवारसमेत थिए, तर माओवादी नेता तिलक परियारसँग पराजित भए।

२०१० फागुन ८ मा जन्मेका हमाल अहिले पार्टीको क्रियाशील सदस्य मात्र हुन् किनकि कांग्रेसको अघिल्लो महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका थिए। हमाल सांसद् छैनन् । संविधानत: उनी बढीमा ६ महिनामात्र मन्त्री बन्न पाउने छन्। उनले मन्त्रीमा निरन्तरता पाउनका लागि यसबीचमा सांसद हुनुपर्नेछ। तर, छ महिनाअघि नै प्रतिनिधिसभा विघटन भई चुनाव घोषणा भएमा उनी चुनावसम्म मन्त्री हुन पाउने छन् । 

उनलाई मन्त्री बनाउनु प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएबापत प्रधानन्यायाधीशलाई दिएको 'उपहार' भनी एमाले निकट कानून व्यवसायीले यसअघिदेखि नै आलोचना गर्दै आएका छन् ।

 



न्यायपालिकाकाे भागबण्डाबाट आपूर्तिमन्त्री बन्दै गजेन्द्र हमाल

प्रकाशित मिति: : 2021-10-08 15:38:00

प्रतिकृया दिनुहोस्