घटस्थापनाको दिन भक्कानिँदै परदेश

अनलाइनखबर

काठमाडौं

बिहीबार बिहान पौने पाँच बजे। राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो। कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लाइन लागेका थिए।

त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली। रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो, तर अनुहार मलिन थियो। मिलन दशैं शुरु भएको घटस्थापनाको दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए।

बिमानस्थल बाहिरको लाइनमा भक्कानिदैं मिलन रसाइली। दायाँबाट दोस्रो ठूलो चाडपर्वको मुखैमा विमानस्थलसम्म पुर्‍याउन आएका श्रीमती र छोरी भक्कानिएपछि आफू सम्हालिन नसकेको मिलनले अनलाइनखबरलाई सुनाए। ‘छोरी र श्रीमतीलाई बिदाइ गर्दा मन सम्हाल्न सकिन, के–के भयो भयो,’ मिलनले आँशु पुछ्दै भने।

सप्तरीको राजगढ गाउँपालिकाका ३८ वर्षीय महेन्द्रप्रसाद यादव पनि त्यही लाइनमा भेटिए। उनको दाहिने हातमा जेब्रा झोला र देब्रे हातमा पासपोर्ट तथा म्यानपावर कम्पनीले दिएको कागज पत्र थियो । मास्कले ढाकेको अनुहारमा उनले निराशा लुकाउन सकेनन्। रेष्टुरेन्टमा काम गर्न विदेश हिँडेका यादवले भने, ‘बाध्यता भयो रहर पटक्कै थिएन।’

प्रकाशित मिति: : 2021-10-07 16:58:00

प्रतिकृया दिनुहोस्