विमानस्थलको चहलपहल, सपिङ मलको भिडभाड, तालिम तथा गोष्ठीमा आउने सहभागी देखेर देश समृद्ध भयो भन्न सकिन्छ हो ?
जब समाजमा विभिन्न प्रकृतिका आर्थिक, सामाजिक तथा राजनीतिक घटना परिघटना हुन्छन् त्यतिवेला नागरिक समाजको भूमिका झन् सशक्त हुनुपर्छ। नेपालमा कानुनी रूपमा नागरिक समाज, गैसस र विभिन्न संगठित गैरनाफामूलक संस्थालाई हेर्ने फरक–फरक व्यवस्था नहुँदा यस लेखमा मैले साझा रूपमा नागरिक समाज शब्दावलीको प्रयोग गरेको छु। नागरिक समाज भनी इंगित गर्दा नेपालमा प्रचलनमा रहेका गैरसरकारी संस्था र नागरिक समाजका रूपमा वेलाबखत देखापर्ने औपचारिक, अनौपचारिक समूहलाई जनाउन खोजिएको हो।
नागरिक समाजको सैद्धान्तिक बुझाइ : इडिनबर्ग विश्वविद्यालयका राजनीति र इतिहास विज्ञानका प्राध्यापक जोनाथन हर्नले नागरिक समाजलाई ‘राज्य र नागरिकबीच संवाद गराउने संयन्त्र’का रूपमा परिभाषित गरेका छन्। नेपाली मानवशास्त्री शौभाग्य शाहले ‘गैससहरू लोकतन्त्र, विकास, मानवअधिकार, सुशासनजस्ता विषयमा निरन्तर छलफल चलाउने मुख्य संवाहक’ भएको उल्लेख गरेका छन्। दिल्ली विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक निरा चन्धोकले नागरिक समाजको भूमिका सामाजिक र राजनीतिक जागरण गराई समाजमा व्याप्त सामाजिक कुरीति, लैंगिक तथा जातीय विभेदलाई छलफलको केन्द्रमा ल्याउनु र त्यस्ता विषयलाई सार्वजनिक चासोको विषय बनाउनु हो भन्ने तर्क गरेकी छिन्।