एमाले विधान महाधिवेशनः चार वर्षका लागि पार्टीको नीति तय गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज केन्द्रमा सुरु हुँदैछ। आठौं र नवौं महाधिवेशनमा नीतिभन्दा बढी नेतृत्वमा रस्साकस्सी भएकाले नीति र विधि टुंग्याउन एमालेले पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।  

विधान महाधिवेशन सकिएपछि एमालेले दसौं महाधिवेशनबाट नेतृत्व चयन गर्ने भएको छ। ‘नीति र विधि टुंग्याएर मात्रै नेतृत्वका लागि दसौं महाधिवेशन हुनेछ’, महाधिवेशन व्यवस्थापन समितिका संयोजक एवं स्थायी कमिटी सदस्य रामबहादुर थापाले भने। दसौं महाधिवेशनपछि पार्टीको नीतिगत स्वरूप कस्तो बनाउने भन्ने मुख्य अजेन्डा र नेतृत्वको स्वरूप निर्धारण गर्नेगरी एमालेकै इतिहासमा पहिलोपटक विधान महाधिवेशन हुन लागेको थापाले बताए।

थापाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। उद्घाटन सत्रपछि बन्द सत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

प्रकाशित मिति: : 2021-10-01 07:36:00

प्रतिकृया दिनुहोस्