पार्टीहरूको अस्तित्व बचाउन वैज्ञानिक समाजवादको नारा

आहुति

समाजवादको अवधारणा विशेषतः फ्रान्सवाट सुरु भएको हो। सन् १८४८ को कम्युनिस्ट पार्टीको घोषणापत्र जारी हुुनुअघि युरोपमा विभिन्न प्रकृतिका र विभिन्न ढंगले समाजवाद ल्याउनुपर्छ भन्नेहरू थिए, जसमा यसबारे चर्चा फ्रान्समा बढी थियो। सेन्ट साइमन, रोबर्ट ओवेन, जो आफैँ पुँजीपति थिए र समाजवादका चिन्तक पनि। उनीहरूले मजदुरहरूलाई सामूहिक रूपमा आफ्ना कारखानाहरू बाँडेर समाजवाद ल्याउन सकिन्छ भनी प्रत्यत्न गरेका थिए। उनीहरूले गरेका प्रयत्न राम्रो नियतबाट भए पनि उनीहरूसँग विचारधारा थिएन। समाजवादको कुनै वैज्ञानिक विचारधारा थिएन्।

सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र आइसकेपछि र समाजवाद हुुँदै साम्यवादसम्मको परिकल्पना गरिसकेपछि माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र आउनुभन्दा अगाडिका समाजवादीहरू काल्पनिक समाजवादीहरू हुन् भन्ने विश्लेषण गरे। रहर र नियत राम्रो भए पनि वैज्ञानिक नियमअनुुसार समाजवाद बनाउने भन्ने विचार उनीहरूसँग थिएन, रहर र नियत मात्र समाजवादी थियो। तर, इच्छा र रहरले मात्र समाजवाद बन्ने होइन।

समाज विकासको आफ्नै वैज्ञानिक नियम हुन्छ, जसलाई माक्र्सवादले पछि ऐतिहासिक भौतिकवादको सिद्धान्त बनायो। वैज्ञानिक नियमअनुुसार बनाउने नभनिएको हुनाले तिनीहरूलाई काल्पनिक समाजवादी भनियो। र, कम्युनिस्टहरूले समाज विकासको नियमअनुसार बनाउने भएको हुुनाले उनीहरूले वैज्ञानिक समाजवाद नामाकरण गरे। त्यसकारण, विज्ञानसम्मत नियमद्वारा निर्माण नगरिएकाले अरू सबैको समाजवाद काल्पनिक समाजवाद हो तर कम्युनिस्टहरूले भनेको वैज्ञानिक समाजवादचाहिँ समाज विकासको वैज्ञानिक नियमलाई पक्रिएर बनाउने हुनाले वैज्ञानिक समाजवाद भनिएको हो ।

प्रकाशित मिति: : 2021-09-30 13:21:00

प्रतिकृया दिनुहोस्