भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज, १० बुँदे छिट्टै कार्यान्वयन हुने दाबी

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको बैठकले दश बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वसम्बन्धी समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ।

बैठकपछि कार्यदलका संयोजक भीम रावलले उपयुक्त विधि र संरचनागत समाधानका लागि विभिन्न उपायबाट अघि बढ्ने सहमति भएको बताए।

‘दश बुँदे सहमतिको कार्यान्वयन, १५ असोजदेखि आरम्भ हुने विधान महाधिवेशनमा प्रतिनिधित्वको विवाद, समस्या समाधानबारे हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘त्यसको लागि उपयुक्त विधि र एउटा संरचनागत समाधानका विभिन्न उपायमा छलफल गर्‍यौं। समस्याको समाधान ति उपायहरूबाटै गर्छौं।’

१० बुँदे कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वका लागि देखिएका समस्याहरू समाधान गर्न एउटा नीतिगत व्यवस्था गरेर अघि बढ्ने बैठकको निष्कर्ष छ।

१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको र जुन ठाउँमा भएको छैन त्यसलाई पनि छिटो कार्यान्वयन गर्दै लैजाने रावलको भनाइ थियो। सुदूरपश्चिम इन्चार्जको विषय पनि १० बुँदे कार्यान्वयनकै सन्दर्भमा आउने रावलले बताए।

उनका अनुसार सुदूरपश्चिमको इन्चार्जको टुंगो अझै लागेको छैन। इन्चार्जमा लेखराज भट्टले दाबी गरेका छन्। १० बुँदे सहमतिअनुसार आफू नै प्रदेश इन्चार्ज भएको रावलको दाबी रहँदै आएको छ।

आफैँ विवाद मिलाउने कार्यदलको संयोजक हुँदा पनि पहिलो बैठकबाट संयोजक रावलले सुपको विवाद टुंगो भने लाउन सकेनन्। यद्यपि रावलले बाँकी रहेको ठाउँमा १० बुँदे छिट्टै कार्यान्वयन हुने दाबी गरेका छन्।

प्रकाशित मिति: : 2021-09-28 18:20:00

प्रतिकृया दिनुहोस्