सम्पादकसँग ओलीको गुनासो- देउवा सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको गुनासो गरेका छन्।

मंगलबार नयाँ बानेश्वरमा सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले वर्तमान सरकारलाई खबरदारी नपुगेको गुनासो गरेका हुन्।

संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको भन्दै ओली भने, ‘म प्रधानमन्त्री हुँदा त राम्रो खबरदारी गर्नु भएको थियो, यो सरकारलाई खबरदारी पुगेन कि?’

ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिए। उनले ती खबरदारीले आफूलाई गल्ती नगर्न प्रेरित गरेको बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याउनु आपत्तिजनक रहेको दाबी गरे।

‘मैले पनि ४० प्रतिशतमा वा राखेर अध्यादेश ल्याएको थिएँ, त्यसबेला उत्पात गरेका थिए,’ उनले भने, “सञ्चारमाध्यम चुप छन् किन हो ? अध्यादेश खारेज गर्न पनि अर्को कानुन चाहिन्छ। संसद् चालु रहँदा सूचना टाँस गर्न पाइँदैन।’

प्रकाशित मिति: : 2021-09-28 17:38:00

प्रतिकृया दिनुहोस्