‘महिनावारी हुँदा महिलालाई सहरमा पनि कहर रहेछ’
२३ वर्षीया माया (नाम परिवर्तन) थारूको परिवारमा महिनावारी हुनु एकदम स्वभाविक कुरा हो: यसलाई न पाप मानिन्छ, न बारिन्छ। धनगढी नआउन्जेल उनलाई महिनावारी भएकी महिलाले छोएको पानी अरू मानिसले बार्छन् भन्ने थाहै थिएन। अचेल उनी महिनावारी हुँदा अलग्गै बस्न, धाराह्य-बाथरूम नछुन बाध्य छन्।
पूर्वी कैलालीको देहातमा रहेको आफ्नो घर छोडेर धनगढी आएपछि हरेक महिनाका पाँच दिन अपमानित हुनु परेको उनी बताउँछन्। 'घर छोडेर आइयो यहाँ आएपछि डेरामा बस्न परिहाल्यो। घरबेटीले महिनावारी बार्न पर्ने सर्त राखेका छन्। महिनाको पाँच दिन अछुत बनाउँछन्, बेइज्जत गर्छन्,' उनले भनिन्।
यस्तो गर्नु परेपछि उनलाई यो अवधिमा ५-७ दिन तनाव हुन्छ। घरबेटीले महिनावारी भएकाहरूका लागि भनेर छुट्टै नल्का त बनाइदिएका छन्। तर अरू बेला बाथरूममा ढुक्कले नुहाउने उनी महिनावारी भएको बेला बाहिर खुला ठाउँमा भएको नल्कामा नुहाउन पर्दा अप्ठेरो महशुस गर्छिन्। ‘नुहाउन, लुगा धुनभन्दा पनि घरबेटीले महिनावरी भएका बेला कचकच गर्छन्, धेरै यताउती, छुइछाई नगर्नु भन्छन्। त्यो बेला अपमानित महशुस हुन्छ,’ उनले भनिन्।
पढाइको लागि धनगढी पुगेकी बझाङकी १८ वर्षीया दीपा (नाम परिवर्तन) ले भने पहिलो पटक महिनावारी हुँदा घरदेखि टाढाको छाउघरमै बस्नु परेको थियो। उनको घरमा महिनावारी कडा तरिकाले बार्नुपर्थ्यो। देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारणले उनले गाउँमा महिनाका पाँच दिन निकै कष्ट बेहोर्नु परेको थियो। जब उनी कलेज पढ्न धनगढी जाने भइन्, सहरमा त महिनावारी हुँदा बार्नु पर्दैन भनेर खुसी थिइन्।