पोखरामा विश्व पर्यटन दिवसको अवसरमा सडक महोत्सव 

विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले एकदिने सडक महोत्सव (मिनि स्ट्रिट फेष्टिबल) आयोजना गरेको छ।

हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको सडक महोत्सव असोज ११ गते सोमबार बाराही चोकदेखि खहरेचोकसम्म महोत्सव चल्ने छ।

निषेधाज्ञा खुलेसँगै पर्यटन क्षेत्रलाई चलायमान गराउन  मिनी महोत्सवलाई निरन्तरता दिएको रेवान अध्यक्ष लक्ष्मण बरालले बताए।

कोरोना महामारी पूर्ण रुपमा निर्मूल भई नसकेकाले महोत्सव क्षेत्रमा स्वास्थ मापदण्डलाईसमेत ख्याल गरिने बरालले सुनाए। ‘ साँझ ५ बजेदेखि राति ११ बजेसम्म महोत्सव रहने छ’ उनले भने। 

नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका छेकोमा  विभिन्न देशका राजदुत र कूटनीतिक नियोगका पदाधिकारीको टोली सहभागी हुनेछन्। 

महोत्सवमा विभिन्न कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम, सांगीतिक समह, लक्ष ब्याड, नेवार समुदायको लाखे नाच, पन्चे बाजा, थारु समुदायको नाच, गन्दर्भ समुदायको सारङ्गीसहितको झाकी पनि ल्याइने छ।

प्रकाशित मिति: : 2021-09-25 16:15:00

प्रतिकृया दिनुहोस्