यो शीर्षकमा लेख्न एउटा सामान्य लेखकका नाताले आफैँलाई असहज महसुस भएको छ। तर‚ आफैँलाई बदलेर र बदल्न प्रयत्न गरेर मात्र समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षाले यस लेखकलाई लेख्न प्रेरित गरेको छ।
अझ आवश्यक पर्यो भने आफैँ आफ्नै टाउकामा आगो झोस्न तयार भएकाले यस विषयमा लेख्न खासै भारी विषय पनि लागेको छैन। तर‚ केही मानिसहरू आलोचना नगरे हुन्थ्यो भन्दा रहेछन्। तर‚ क्षयरोग लागेपछि भैँसीलाई हान्ने सुई मानिसलाई पनि धस्काउनु पर्छ। भनिन्छ-
इमान्दार मान्छेले त्यति ठाउँ बनाउँदैन
जति ठाउँ झुटो र धोकेवाज मान्छले बनाउँछ। लोकतान्त्रिक गणतन्त्र कालमा पनि यो भनाइ जस्तै हुने हो भने २०६२/६३ पछि प्राप्त उपलब्धिलाई जनताले धिक्कार्ने छन्‚ दुत्कार्ने छन्। यस कालमा इमान्दार भनेर चिनिएको स्रष्टा नै भ्रष्ट हुन थाल्नु भनेको दिमाग, बुद्धि र विवेक सड्नु हो।
जबजका प्रणेता तथा जननेता मदन भण्डारीले उहिले महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आयोजित प्राध्यापक, स्रष्टा तथा शिक्षकहरूको भेलामा अवसर पाएर पनि इमान्दार हुनु चाहिँ सर्वोपरि महत्वको विषय हो भन्नु भएको थियो। कतै कुनै केही पनि आर्थिक‚ भौतिक दुरुपयोग गर्ने अवसर नपाएर त्यसै त्यसै कक्रिएर इमान्दार हुनु ठूलो कुरा होइन। सबै शिक्षक‚ प्राध्यापक र स्रष्टा अत्यन्त इमान्दार छन् भनेर कदापि विश्वास गर्न सकिन्न भन्ने कुरामा भण्डारीको जोड थियो।