राजनीति बुझेकाले बारम्बार दोहोर्याइरहने एउटा चर्चित शब्द हो, ‘राजनीति सरल मार्ग हुँदै कहिल्यै अघि बढ्दैन ।’ विश्वको राजनीतिक इतिहासलाई पल्टाउने हो भने पनि यही यथार्थ उद्घाटित हुन्छ । सरल मार्गबाट चिप्लिएर राजनीतिअघि बढ्यो भने त्यो अपवाद मात्र हुने ठानिन्छ । राजनीतिले पक्रने बाटो सदैव बांगाटिंगा नै हुन्छन् । उत्तिकै उबडखाबड पनि ।
राजनीतिको बांगोटिंगो बाटोमा हिँड्नेको यात्रा पनि पक्कै सोझो र सरल नहोला । पछिल्लो समय नेकपा (एमाले) विभाजित भएपछि राजनीति यात्रा गर्ने केही पात्र यस्तै–यस्तै समस्या झेल्दै नैतिक÷राजनीतिक संकटको चक्रवातमा फस्न पुगेका छन् । चक्रवातमा फस्नेहरू थुप्रै भए पनि पछिल्ला घटनाक्रमलाई केलाउँदा सुदूरपश्चिम क्षेत्रबाट नेपाली राजनीतिमा उदाएका एमाले नेता भीम रावल भने यो चक्रवातमा नराम्ररी फस्न पुगेको प्रस्टै दृष्टिगोचर हुन्छ । त्यो चक्रवातबाट उम्किन उनले धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ ।
उनी नेकपा (एमाले)मै अड्डा जमाएर बस्लान्, वा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा कुनै अनुकूल समय मिलाएर प्रवेश गर्लान् वा नयाँ समूह गठन गरेर बस्लान्, यो भविष्यले बताउने विषय हो । तर, रावलले नेपाली राजनीतिमा जुन प्रवृत्तिलाई स्थापित गर्न खोजे, त्यसलाई नेपाली राजनीतिमा भित्रिएको अवसरवादको चरम नमुना भने पक्कै मान्न सकिन्छ । अवसरवादको यस्तो चरम बाटो त ‘कुनै अडान नभएका’ भनी परिचित वामदेव गौतमजस्ता नेताले पनि लिएका थिएनन् । रावलले भने पछिल्ला दिनमा गौतमलाई समेत उछिनेर आफ्नो राजनीतिक हैसियत र चरित्रको राम्रै उजागर गरेका छन् ।